बैतडी –बैतडीमा पछिल्लो समयमा विद्युत सेवा अनियमित हुँदा ग्राहकहरुलाई समस्या भएको छ । गएको तीनदिनदेखि जिल्लामा विद्युत सेवा अवरुद्ध भएपनि अझै सुचारु हुन सकेको छैन् । विद्युत सेवा अवरुद्ध हुँदा सरकारी कार्यालयका कामकाज समेत प्रभावित भएका छन् ।
नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रको लापरवाहीका कारण समयमै विद्युत सेवा सुचारु नभएको उपभोक्ताहरुले गुनासो गरेका छन् । विद्युत अवरुद्ध भएको तीनदिन बितिसक्दा समेत प्राधिकरणको ध्यान नगएको ग्राहकहरुको गुनासो रही आएको छ । ‘विद्युत सेवा अनियमित हुँदा समेत प्राधिकरणले ध्यान दिएको छैन् । यसले हामीलाई धेरै समस्या भएको छ ।’सुर्नया विशाल भट्टले भने, ‘विद्युत नहुँदा विद्यार्थीहरुलाई समस्या भएको छ । स्थानीय नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् ।’
विद्युत अवरुद्ध हुँदा सञ्चार माध्यम सञ्चालनमा समेत कठीनाइ आएको छ । गएको तीनदेखि रेडियो निङ्गलाशैनीले जेनेरेटरबाट आफ्नो सेवा सञ्चालन गरिरहेको छ । जिल्लाका कतिपय मिडिया हाउस विद्युत नभएकै कारण बन्द भएका छन् ।
विद्युत सेवा अनियमित हुँदा उद्योगी व्यवसायीहरु पनि मारमा परेका छन् । विद्युत आपूर्ती बन्द हुँदा आफ्नो व्यवसाय सञ्चालनमा समस्या भएको ग्रील उद्योगका सञ्चालक बहादुर लुहारले बताए । उनले भने‘गएको तीन दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा काम गर्न सकिएको छैन् । यसले गर्दा हाम्रो रोजीरोटीमा समस्या भएको छ ।’
विद्युत महसुल बुझाउन केही ढिलो हुँदा हर्जना असुल्ने विद्युत प्राधिकरणले आफ्नो सेवा नियमित गर्न भने कत्ति पनि ध्यान नदिएको उपभोक्ताहरुको आक्रोश छ । विद्युत सेवा अनियमित हुँदा समेत त्यसलाई सुचारु गर्न ध्यान नदिँदा हजारौं ग्राहक समस्यामा परेका स्थानीय देवदत्त भट्टले बताए ।
बैतडीमा विद्युत प्राधिकरणका १८ हजार ग्राहक छन् । तर विद्युत प्राधिकरणले गुणस्तरीय सेवा दिन नसक्दा उनीहरु हैरान बनेका छन् ।
यता विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले भने विद्युत सेवा सुचारु गर्न पहल भइरहेको जनाएको छ । चट्याङका कारण ट्रान्सफर्मरमा क्षति हुँदा विद्युत सेवा नियमित गर्न ढिलाइ भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर माधवप्रसाद लेखकले बताए । प्रशारण लाइन जीर्ण हुँदा पनि केही समस्या भएको उनले सुनाए । उनले भने ‘धेरै जसो आपूर्ती बलाँच र अत्तरीयाबाटै बन्द हुँदा विद्युत प्रवाहमा समस्या भइरहेको छ । हामीले विद्युत सेवा नियमित गर्नका लागि पहल गरिरहेका छौं ।’




