बैतडी- बैतडीको पाटन नगरपालिका वडा नं ९ स्थित ज्ञानेश्वर नमूना माध्यमिक विद्यालयको प्रधानाध्यापकमा पुष्प राज जोशी नियुक्त भएका छन् । पाटन नगरपालिकाले प्रचलित शिक्षा ऐन तथा नियमावली बमोजिम माथिल्लो तथा समान तह शिक्षक हुँदाहुँदै तल्लो तहको शिक्षकलाई प्रधानाध्यापक नियुक्ती भएको भए समान तहको स्थायी शिक्षकलाइ प्रधानाध्यापक बनाउने निर्णय गरेको थियो ।
सोही निर्णय बमोजिम निमावि स्थायी शिक्षक तर्क राज भट्टको ठाउँमा मावि स्थायी शिक्षक जोशीलाई प्रधानाध्यापको जिम्मेवारी प्रदान गरिएको विद्यालयका शिक्षक धन बहादुर महराले जानकारी दिए ।
निमावि स्थायी शिक्षक भट्टले झण्डै साढे १० वर्ष ज्ञानेश्वर माविमा प्रधानाध्यापको अभिभारा सम्हालेर काम गरेका छन् । उनकै कार्यकालमा ज्ञानेश्वर मावि नमूना माविका रुपमा चिनिएको छ । प्रधानाध्यपाक भट्टले आफनो १० वर्ष ३ महिने कार्यकालमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।
सबैको सामूहिक प्रयासबाट ज्ञानेश्वर माविलाई नमूना बनाउन सकिएको र अबका दिनमा यसलाई अझै व्यवस्थित गरेर लैजाने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । उनले भने ‘ हामी सबैको सामूहिक प्रयासबाट विद्यालयलाई नमूना बनाउन सफल भएका छौं । अबका दिनमा पनि हामी विद्यालयमा अझै शैक्षिक र भौतिक प्रगति गर्नेछौं ।’
कक्षा १२ सम्मको पढाई हुने ज्ञानेश्वर माविमा सिभिल ओभरसियरको समेत पढाइ हुन्छ । यो विद्यालयमा करिब साढे चार सय विद्यार्थी र २२ जना शिक्षक कर्मचारी रहेका बताइएको छ ।
नगरपालिकाले गत असार ३ गते प्रचलित शिक्षा ऐन तथा नियमावली बमोजिम माथिल्लो तथा समान तह शिक्षक हुँदा हुँदै तल्लो तहको शिक्षकलाई प्रधानाध्यापक नियुक्ती भएको भए समान तहको स्थायी शिक्षकलाइ प्रधानाध्यापक बनाउने निर्णय गरेको थियो । अहिले सो निर्णय कार्यान्वयन भइरहेको छ ।




