Sagun Khabar
बैतडीमा मापदण्ड विपरीतका एम्बुलेन्स सञ्चालनमा 

बैतडी –बैतडीमा सञ्चालनमा रहेका एम्बुलेन्सहरु मापदण्ड विपरीत सञ्चालनमा रहेका पाइएको छ । जिल्लामा १२ ओटा एम्बुलेन्स भएपनि मापदण्ड अनुसारका कुनै पनि एम्बुलेन्स नरहेका पाइएको हो । 

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ले क वर्ग र ख वर्गका एम्बुलेन्स मात्रै सञ्चालन गर्न पाइने व्यवस्था गरेको भएपनि बैतडीका रहेका सबै एम्बुलेन्सहरु ग वर्गका रहेका छन् । जिल्लामा सञ्चालित एम्बुलेन्सहरुलाई ख वर्गका बनाउन जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले निर्देशन दिएको भएपनि अहिले सम्म त्यसो हुन सकेको छैन् । 

जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सहरु मापदण्ड अनुसारका नभएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले तोके अनुसारका कुनै पनि एम्बुलेन्स नरहेका उनले बताए । उनले भने ‘एम्बुलेन्सका लागि आवश्यक जनशक्ति, औषधि, उपकरण आदिको व्यवस्था गर्नुपर्ने हुन्छ । त्यसका लागि निर्देशिकामा मापदण्ड उल्लेख गरेको छ । त्यो मापदण्ड अनुसार हाम्रो जिल्लामा कुनै पनि एम्बुलेन्स छैनन् ।’

मापदण्ड अनुसारका एम्बुलेन्स नहुँदा बिरामीहरुले पाउनुपर्ने आवश्यक सुविधा पाउन सकिरहेका छैनन् । जिल्ला एम्बुलेन्स सञ्चालन समितिले सबै एम्बुलेन्सलाई दुई महिनाभित्र ख वर्गमा स्तरोन्नती गरी सञ्चालन गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको भएपनि अहिले सम्म कसैले पनि स्तरोन्नती नगरेको स्वास्थ्य प्रमुख भट्टले बताए । 

जिल्लाको सिगास गाउँपालिका बाहेकका सबै स्थानीय तहमा एम्बुलेन्सको व्यवस्था रहेको भएपनि मापदण्ड अनुसारका एम्बुलेन्स कुनै पनि स्थानीय तहसंग नरहेको बताइएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स ६ महिनादेखि धनगढीमा थन्किरहेको छ भने जिल्लाको डिलाशैनी गाउँपालिकाको एम्बुलेन्स पनि २ महिनादेखि सञ्चालनमा नरहेको बताइएको छ । 

एम्बुलेन्स सञ्चालन र व्यवस्थापनमा स्थानीय तहहरुले खासै चासो समेत नदिएका बताइएको छ । कतिपय स्थानीय तहमा एम्बुलेन्स सञ्चालनमै अन्यौलता रहेको छ ।  
 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update