बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि थप अस्थायी स्टेशन सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गरेर परिचयपत्र विवरण संकलन गर्न थप अस्थायी स्टेशन सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कर्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
सोमबार देखि जिल्ला प्रशासन कार्यालय परिसरमा राष्ट्रिय परिचयपत्र विवरण संकलन गर्नका लागि थप अस्थायी स्टेशन सञ्चालनमा ल्याएर सेवा प्रवाह भइरहेको उनले बताए । उनले भने ‘सेवाग्राहीको चाप बढेपछि हामीले थप स्टेशन सञ्चालनमा ल्याएका हौं । यसले सेवाग्राहीहरुलाई सजिलो हुने अपेक्षा गरेका छौं ।’
जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सहजताका लागि आइतबारदेखि विद्युतीय टोकन प्रणाली पनि शुरु गरिसकेको छ । सेवाग्राहीको सहजताका लागि प्रशासनले प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनले भने ‘अबेर सम्म पनि सेवाग्राहीको चाप हुने भएकाले हामीले अस्थायी स्टेशन सञ्चालनमा ल्याएका हौं । अब राष्ट्रिय परिचय पत्रको विवरण दर्ताका लागि सहज हुने हाम्रो विश्वास छ ।’




