बैतडी –साउन महिनाको पहिलो सोमबार बैतडी सहित सुदूरपश्चिमका शिवमन्दिर तथा शक्तिपीठहरुमा दर्शनार्थीको घुइचो लागेको छ । बैतडीको सुर्नया गाउँपालिकास्थित रौलाकेदार मन्दिरमा आज सोमबारका दिन दर्शनार्थीको भीडा लागेको मन्दिरका पूजारी विष्णुदत्त भट्टले बताए । यो मन्दिरमा श्रावण महिनाभरी भक्तजनको भीडभाड हुने गरेको उनले बताए । उनले भने ‘रौलाकेदारमा दर्शन गर्नेको भीडभाड लागेको छ । आज साउनको पहिलो सोमबार भएकाले दर्शनार्थीहरुको भीड लागेको हो ।’
यस्तै जिल्लाको ग्वाल्लेक केदार, गोफाकेदार, शिखरकेदार, सिगासधुरा, शिवनाथ, जगन्नाथ, उदयदेव, महारुद्र लगायतका मन्दिरमा दर्शनार्थीहरुको भीड बढेको छ । यसैगरी वासुलिङ्ग, पातालु भुवनेश्वर, रामेश्वरधाम, विश्वनाथ धाम लगायतका मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।
जिल्लाका प्रसिद्ध शक्तिपीठहरु निङ्गलाशैनी, त्रिपुरासुन्दरी, डिलाशैनी, मेलौली, कफलाशैनी, फाल्ङासैनी लगायतका देवीका मन्दिरहरुमा पनि भक्तजनको भीडभाड बढेको छ । सुदूरपश्चिममा साउन महिनालाई बत्ती बाल्ने महिनाको रुपमा लिइने भएकाले मन्दिर तथा शक्तिपीठहरुमा जाग्राम बस्ने चलन समेत रही आएको छ ।




