बैतडी –बैतडीमा गत आर्थिक बर्षमा ३३ व्यवसायीमाथि कारवाही गरिएको छ । बजार अनुगमनका क्रममा म्याद नाघेका अखाद्य वस्तु विक्रि वितरण गर्ने व्यवसायीलाई कारवाही गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
जिल्लाका विभिन्न स्थानमा बजार अनुगमनका क्रममा म्याद नाघेका सामग्री विक्रि गर्ने, लेवल नभएका सामग्री विक्रि गर्ने र उपभोक्ताको हित विपरीत व्यापार व्यवसाय गर्नेमाथि कारवाही गरिएको उनले बताए ।
अनुगमनका क्रममा कारवाही गरिएका व्यवसायीबाट २ लाख ४५ हजार जरीवाना असुल गरिएको सूचना अधिकारी भारतीले बताए । यस्तै बजार अनुगमनका क्रममा ४६ हजार ६ सय ८७ बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको बताइएको छ ।
गत आर्थिक बर्षमा संयुक्त बजार अनुगमन समितिले स्थानीय तहहरुसंगको समन्वयमा जिल्लाका मुख्य बजारहरुमा अनुगमन गरेको सूचना अधिकारी भारतीले बताए । बजारमा पहिलाको तुलनामा केही सुधार भएको भएपनि अझै म्याद नाघेका सामग्री विक्रि वितरण गर्ने क्रम रोकिएको छैन् ।
व्यवसायी र उपभोक्ता दुवैलाई कुनैपनि सामग्री खरीद अथवा विक्रि गर्दा उत्पादन मिति र उपभोग्य मिति हेरेर मात्रै खरीद विक्रि गर्न आग्रह गरिएको सूचना अधिकारी भारतीले बताए ।




