बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा निकासीमा रोक लगाएको छ । पालिकाले मंगलबार एक सूचना जारी गरेर गाउँपालिका सेवा क्षेत्रभित्रका खोला नदी तथा सार्वजनिक स्थलबाट बालुवा , ढुङ्गा गिट्टी उत्खनन तथा निकासीमा प्रतिबन्ध लगाएको जनाएको हो ।
चमेलिया नदी र गिन्नीगाड खोलाबाट जथाभावीरुपमा नदीजन्य बस्तुहरुको उत्खन्न तथा निकासी भइरहेको भन्ने गुनासो बढेकाले रोक लगाएको पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शंकर बहादुर साउँदले जानकारी दिए ।
गाउँपालिकाको जानकारी विना ठेक्का प्रकृया नभइ उक्त कार्य नर्गन नगराउन सूचना मार्फत अनुरोध गरिएको उनले बताए । गाउँपालिकाबाट ठेक्का भइसकेपछि मात्रै उक्त कार्य गर्न मिल्ने सूचनामा उल्लेख गरिएको छ ।
कसैले सूचनाको अवज्ञा गरि सो कार्य गरेको पाइए कानुन अनुसार कारबाही गरिने बताइएको छ ।




