बैतडी-बैतडीको दशरथचन्द नगरपालिकाका कर्मचारीहरुले राष्ट्रिय वाणिज्य बैंकबाट बिना धितो ऋण पाउने भएका छन् । दशरथचन्द नगरपालिका र राष्ट्रिय वाणिज्य बैंकको बैतडी शाखाबीच बुधवार भएको सम्झौता अनुसार नगरपालिकाका कर्मचारीहरुले ५ लाख देखि १५ लाख रुपैँयासम्म बिना धितो ऋण पाउने भएका हुन् ।
दशरथचन्द नगरपालिकाका नगरप्रमुख पुस्करराज जोशी (लख्खाभाई) र राष्ट्रिय वाणिज्य बैङ्ककका प्रबन्धक पुर्ण लेखकले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा अनुसार नगरपालिकाको सिफारिसमा सेवा अवधी सुरु गरेको दुई बर्ष भएका र पाँच बर्ष बाँकी रहेका स्थायी कर्मचारीहरुले सो रकम बिना धितो प्राप्त गर्ने छन् ।
पेशाकर्मी सरल कर्जा योजना अनुसार वाणिज्य बैंक र नगरपालिकाबीच कर्मचारीलाई बिना धितो ऋण उपलब्ध गराउने सम्झौता भएको र यसले नगरपालिकाका कर्मचारीहरुलाई ऋण लिन सहज हुने नगर प्रमुख लख्खाभाइको भनाई छ ।
राष्ट्रिय वाणिज्य बैंकको बैतडी शाखामा तलवी बचत खाता खोल्ने र मासिक तलवको आधा रकम किस्ता रहने गरेर ऋण उपलब्ध हुने व्यवस्था गरिएको राष्ट्रिय वाणिज्य बैङ्कका प्रबन्धक पुर्ण लेखकले बताए । उक्त सहुलियत ऋणको ब्याजदर तत्काललाई ८.९७ प्रतिशत र समयाअवधी अधिकत्म पाँच बर्ष सम्म तोकिएको छ ।




