बैतडी- बैतडीमा पनि विपी स्मृति दिवस मनाइएको छ । विभिन्न कार्यक्रम गरेर जिल्लामा पनि प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४० औँ स्मृति दिवस मनाइएको हो ।
विपी बिचार राष्ट्रिय समाज बैतडीको आयोजनामा सदरमुकाममा विपी स्मृति दिवस मनाइएको विपी बिचार राष्ट्रिय समाज बैतडीका सभापति रमेश सिंह भण्डारीले जानकारी दिए । विपीको तस्बिरमा माल्यापर्णका साथै उनका बिचार माथि छलफल गरेर दिवस मानाइएको उनले बताए ।
विपी स्मृति दिवस कार्यक्रममा सहभागिहरुले नेपाली कांग्रेसले अब विपीको विचारमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् । यस्तै जिल्लाको मेलौलीमा पनि विपी स्मृति दिवस मनाइएको छ । मेलौलीमा वीपीको स्मृति दिवस मेलौली भगवति मन्दिरमा बृक्षारोपण गरेर मनाइएको हो ।
नेपाली काँग्रेस वडा कार्य समिति मेलौली नगरपालीका–१ को आयोजनामा मेलौलीको भगवति मन्दिर परिसरमा बृक्षारोपण गरेर वीपी स्मृति दिवस मनाइएको नेपाली काँग्रेस वडा कार्य समिति सचिब बिजय पोखरेलले बताए । विपी बिचार राष्ट्रिय समाज बैतडीका सभापति रमेश सिंह भण्डारीको सभाध्यक्षतामा सदरमुकाममा भएको कार्यक्रममा पूर्व मन्त्री एवं नेपाली काँग्रेस बैतडीका पूर्व पार्टी सभापति नरबहादुर चन्द, जिल्ला समुन्वय समिति प्रमुख खगेन्द्र सिंह धामी, सिगास गाउँपालिकाका अध्यक्ष हरिश सिंह धामी लगायत अन्य काँग्रेसका नेताहरुको सहभागिता रहेको थियो ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो भने २०३९ साल साउन ६ गते निधन भएको थियो । २०१५ सालको संसदीय चुनावपछि २०१६ साल जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।




