Sagun Khabar
बैतडीमा ट्राफिक नियम उल्लंघन गर्ने ३८ सय बढी सवारीसाधन कारबाहीमा

बैतडी- बैतडीमा ट्राफिक प्रहरीले ३८ सय बढी सवारी साधनहरुलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७८÷७९मा जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले ट्राफिक नियम उल्लंघन  गर्ने ३ हजार ८ सय २६ सवारी साधनहरुहरुलाई  कारबाही गरेको हो  ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख राम सिंह भण्डारीका अनुसार  ट्राफिक नियम उल्लंघन  गर्ने ४ सय १५ ट्रक÷ट्याङ्कर, ६४ बष, २ हजार ९३ जीप कार र भ्यान कारबाहीमा परेका छन् ।यस्तै ३ सय २ ट्याक्टर, ७ सय ७२ मोटर साइकल र १ सय ४०ओटा अन्य सवारीसाधन कारबाहीमा परेका ट्राफिक प्रमुख भण्डारीले बताए । 

सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, सिट बेल्ट तथा हेलमेट नलगाउने, मादकपर्दाथ सेवन गरेका, क्षमता भन्दा धेरै यात्रु बोक्ने ,तीव्रगति लगायतका नेपाल सरकारले तोकेको सवारी नियम उल्लंघन गर्ने सवारी साधनहरु  कारबाहीमा परेका बताइएको छ ।  

यस्तै कारबाहीमा परेका सवारीसाधनबाट २१ लाख १८ हजार राजस्व संकलन भएको  जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको  छ । आर्थिक वर्ष २०७७÷७८ मा पनि ४ हजार ३ सय ४३ सवारी साधनहरु कारबाही परेका थिए ।

कारबाहीमा परेका सवारी साधनबाट ट्राफिक प्रहरीले २५ लाख २५ हजार राजस्व संकलन  गरेको  थियो । ट्राफिक प्रहरीको अहिले जिल्लाका चार ठाउँमा उपस्थिति छ ।  जिल्लाको  साहिलेक, सतबाँझ, पाटन र खोड्पेमा ट्राफिक प्रहरीको उपस्थिति रहेको  हो ।

ट्राफिक नियमको  पालना गराएर  सवारी  दुर्घटना न्यूनिकरणका लागि चेकजाँच  गर्ने गरिएको   जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले  जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update