बैतडी- बैतडीमा बलात्कारको आरोपमा पक्राउ परेका वडा अध्यक्ष नेगी सहित दुई जनालाई जिल्ला अदालत बैतडीले पुर्पक्षका लागि कारागार चलान गरेको छ । अदालतले महिलमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका जिल्लाको मेलौली नगरपालिका १ का वडाअध्यक्ष सरदसिंह नेगी र सोहि ठाउँका केशब सिंह नेगीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । जिल्ला अदालतको आदेशमा दुवै जनालाई असार ३ गते पुर्पक्षाका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी दिए ।
प्रहरीले २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वडाअध्यक्ष नेगीसंगै सोही ठाउँका केशवसिंह नेगीलाई पक्राउ गरेको थियो । पीडित महिलाले दिएको उजुरीको आधारमा प्रहरीले उनीहरु दुवै जनालाई असार १४ गते पक्राउ गरिएको थियो । उनीहरुविरुद्ध जवरजस्तीकरणी मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरि अदालतमा पेश गरेको थियो ।
पीडित महिला परिवारकै संरक्षणमा रहेकी बताइएको छ । नेगी गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मेलौली नगरपालिका वडा नं. १ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।




