बैतडी- जिल्ला मालपोत कार्यालय बैतडीको राजस्वमा वृद्धि भएको छ । मालपोत कर्यालय बैतडीले आर्थिक वर्ष २०७८÷७९ मा ८५ लाख बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष ७७ ÷७८ मा ५५ लाख २२ हजार ५ सय २८ राजस्व संकलन गरेको मालपोत कार्यालय बैतडीले गएको आर्थिक वर्षमा ८५ लाख ८० हजार १ सय ७३ रुपैँया संकलन गरेको जिल्ला मालपोत कार्यालयका नायब सुब्बा लोकन्द्र प्रशाद पन्तले जानकारी दिए ।
उनका अनुसार मालपोत कार्यालयले रजिस्टे«सन शुल्कबाट ५६ लाख ९३ हजार ४ सय ७३ र अन्य विविधमा २८ लाख ८६ हजार ६ सय ९६ रुपैँया संकलन गरेको छ । रजिस्टे«सन, पूर्जाबिक्री, धितो रोक्का, नामसारि, संसोधन, प्रतिलिपि, दण्डजरिवाना, पूँजिगत लाभकर लगायतबाट सो रकम संकलन भएको नायब सुब्बा पन्तले बताए ।
आर्थिक वर्ष ७७÷७८ मा कारोनाका कारण राजस्व संकलनमा कमि अएपनि अहिले करको दरमा वृद्धि भएकाले पनि राजस्व संकलन बढेको उनले बताए । मालपोत कार्यालयले ५ वर्षभित्र घर जग्गा कारोबार भएमा ५ प्रतिशत र ५ वर्षभन्दा माथिको कारोबार भएमा ७ दशमलब ५ प्रतिशत राजस्व बापतको कर उठाउने गरेको बताइएको छ ।
जिल्ला मालपोत कार्यालयले संकलन गरेको घरजग्गा रजिस्ट्रेसन तथा अन्य कर स्थानीय तहलाई ६० प्रतिशत र प्रदेश सरकारको संञ्चित कोषमा ४० प्रतिशत जम्मा हुने गरेको छ भने मालपोत कार्यालयले संकलन गरेको पुँजिगत लाभकर वापत उठेको राजस्व संघीय सरकारको सञ्चित कोषमा जम्मा हुने गरेको जिल्ला मालपोत कार्यालय बैतडीले जनाएको छ ।




