बैतडी- बैतडीमा एक घर भत्कीएको छ । लगातारको वर्षाका कारण जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ५ सेलौटीका देवि राम लोहारको दुइ तले घर भत्कीएको हो ।
बुधबार दिउँसो घर भत्कीएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । सिलेटले छाएको घर भत्कीदा गोठमा बाँधेका बाख्रा मरेका छन् । मानविय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी दिए ।
मान्छेहरु घर बाहिर रहेकाले मानविय क्षति हुन नपाएको प्रहरीको भनाई छ । ११ जनाको परिवार बस्ने लोहारको घर भत्कीएपछि अहिले उनिहरु तिरपालमुनि बसि रहेका प्रहरी प्रवक्ता जोशीले बताए । लोहारको परिवारलाई नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले कम्बल र तिरपाल लगायतका सामग्री दिएपछि उनिहरु अहिले आफ्नै घरको बारीमा तिरपालमुनि बसिरहेका उनले बताए ।
लोहारको परिवारलाई खाद्यान्न सहयोग
घर भत्केर तिरपालमुनी बसिरहेको लोहारको परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । दशरथचन्द नगरपालिकाले पाँच ओटा कम्बल र अन्य खाद्यान्नका सामान सहयोग गरेको नगरपालिकाका विपद् सम्पर्क व्यत्ती बिनोद बहादुर चन्दले जानकारी दिए ।
नुन, तेल चामल लगायतका खाद्यान्नका सामान सहयोग गरिएको उनले बताए । यस्तै अहिले सो ठाउँमा दशरथचन्द नगरपालिकाका नगर प्रमुख लगायतको टोली गएको बताइएको छ ।




