बैतडी –सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा सङ्क्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
साउन दोश्रो साता संक्रमितको संख्या दोब्बरले वृद्धि भएको निर्देशनालयले जनाएको छ । प्रदेशभरी पहिलो साता ५६ जनामा संक्रमण देखिएकामा दोस्रो साता थप एक सय १३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
भारतमा कोरोना संक्रमणदर दिनानुदिन बढिरहेकाले सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा संक्रमणदर बढ्दै गएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
कोरोना संक्रमणदर बढ्दै गएपछि सीमा क्षेत्रमा कडाइ गर्न थालिएको छ । सुदूरपश्चिमका भारतसंग सीमा जोडिएका नाकामा कोरोना परीक्षण पुनः सुचारु गरिएको जोशीले बताए ।
बैतडीको भारतसंग सीमा जोडिएको नाका झुलाघाटमा पनि कोरोना परीक्षण पुनः शुरु गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । भारतबाट नेपाल फर्कने नागरिकको कोरोना परीक्षण भइरहेको उनले बताए । साउन पहिलो साता सम्म कोरोनाका संक्रमित शून्य रहेको बैतडीमा अहिले ६ जनामा संक्रमण पुष्टि भइसकेको उनले बताए ।
कोरोना संक्रमणदर बढ्दै गएपछि जनस्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । यसका साथै कोरोना विरुद्धको खोप नलगाएको भए खोप लगाउन समेत आग्रह गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५८ हजार सात सय ४३ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार आठ सय ९९ जनामा संक्रमण पुष्टि भइसकेको छ । कोरोनाका कारण सुदूरपश्चिम प्रदेशमा अहिले सम्म ६ सय ३३ जनाको ज्यान गइसकेको छ ।




