बैतडी –सुदूरपश्चिममा कोरोना संक्रमणदर बढ्दै गएको छ । आइतबार एकैदिन थप ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल, डोटीले जनाएको छ । प्रदेशमा कञ्चनपुरमा २१, कैलालीमा ९ र बैतडीमा २ जनामा कोरोना पुष्टि भएको हो ।
४७३ जनाको एन्टीजेन परीक्षण गर्दा थप ३२ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । भारतसंग सीमा जोडिएका नाकामा कोरोना परीक्षण पुनः शुरु गरिएको समेत निर्देशनालयले जनाएको छ । नाकाबाट नेपाल फर्कने नागरिकको कोरोना परीक्षण थालिएको हो ।
भारतमा कोरोना संक्रमणदर बढ्दै गएपछि नेपालका सीमावर्ती क्षेत्रमा पनि कोरोनाको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । साउन दोश्रो साता शुरु भएयता सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दै गएको उनले बताए ।
भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा समेत कोरोना परीक्षण पुनः शुरु गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
सुदूरपश्चिममा अहिले सम्म ५ लाख ५९ हजार २ सय १६ जनाको कोरोना परीक्षण गरिएकोमा ५९ हजार ९३१ जनामा कोरोना पुष्टि भइसकेको छ । ती मध्ये ६ सय ३३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने अन्यले कोरोना जितेका छन् ।




