Sagun Khabar
मदिरा नियन्त्रणको माग गर्दै मेलौली नगरपालिकालाई नेविसंघको ज्ञापन पत्र 

बैतडी –मदिरा नियन्त्रणको माग गर्दै नेपाल विद्यार्थी संघले मेलौली नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । अवैध मदिराको विक्रि वितरणका कारण समाजमा अपराध बढेकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको नेविसंघले जनाएको छ । 

नेपाल विद्यार्थी संघ मेलौली नगरकार्यसमितिका तर्फबाट कार्यवाहक नगरप्रमुख हर्कबहादुर चन्दलाई ज्ञापन पत्र बुझाइएको नेविसंघका मेलौली सचिव नारद भट्टले बताए । 

लाइसेन्स लिएकाहरुलाई समय तोकेर मात्रै मदिरा विक्रि गर्न दिनुपर्ने, अवैध मदिराको कारोबार पूर्ण रुपमा बन्द गर्नुपर्ने लगायतका माग राखेर आफूहरुले ज्ञापन पत्र बुझाएको सचिव भट्टले बताए । 

नेविसंघले बुझाएको ज्ञापन पत्रमा अवैध मदिराका कारण बालबालिकाहरुको भविष्य समेत अन्धकारमा परेकाले यो तर्फ सचेत हुन आग्रह गरिएको छ । 

नेविसंघको ज्ञापन पत्र बुझ्दै कार्यबाहक नगरप्रमुख चन्दले मदिराको अवैध कारोबार नियन्त्रण गर्नका लागि नगरपालिका प्रयासरत रहेको बताए । यस्तै अवैध मदिराको कारोबार नियन्त्रणमा सबै पक्षको सहयोग हुनुपर्नेमा उनले जोड दिए । 

ज्ञापन पत्र बुझाएपछि भएको छलफलमा लाइसेन्स लिएकाहरुले निश्चित समयमा मात्रै मदिराको कारोबार गर्न पाउने, अवैध मदिराको कारोबारमा पूर्ण रुपमा रोक लगाउने, मदिरा सेवन गरी होहल्ला गर्नेलाई जरीवाना गर्ने लगायतका सहमति भएको सचिव भट्टले बताए । 

Gyapan1659270655.jpg

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update