बैतडी – भारतसँग सीमा जोडिएको बैतडीबाट पछिल्लो तीन वर्षमा झण्डै दुई सय जना मानिस हराएका छन् । आर्थिक वर्ष २०७६÷७७ देखि २०७८÷७९ सम्म १ सय ८९ जना हराएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । आर्थिक बर्ष २०७६÷७७ मा ४५, २०७७÷७८ मा ६०, २०७८÷७९ मा ८४ जना हराएका प्रहरीको तथ्यांक रहेको छ ।
हराएका मध्ये अधिकांश महिला तथा बालबालिका रहेका प्रहरी निरीक्षक जोशीले जानकारी दिए । हराएकामध्ये आर्थिक बर्ष २०७६÷७७ मा ३८, २०७७÷७८ मा ३९ र २०७८÷७९ मा ५३ जना फेला परिसकेका छन् । उनसाठी जना भने अझै सम्पर्कविहीन रहेका प्रहरी प्रवक्ता जोशीले बताए ।
हराएकाको अझै पनि जिल्लास्थित मातहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्वीरसहित पत्राचार गरिएको र खोजी भइरहेको प्रहरीले जनाएको छ । आफन्त हराएको बेला प्रहरीमा खबर गरेपनि फेला परेपछि भने आफन्तहरुले जानकारी नदिँदा हराएकाहरु फेला परेको तथ्यांक एकीन गर्न गाह्रो हुने गरेको प्रहरी प्रवक्ता जोशीले बताए ।
बैतडी भारतसंग सीमा जोडिएको नाका भएकाले नाकाबाट भारत जाने नागरिक समेत हराउने गरेका छन् ।




