Sagun Khabar
बैतडीका स्थानीय सरकार सिकाइ आदानप्रदान गर्दै 

बैतडी –बैतडीका स्थानीय सरकारहरु एकआपसमा सिकाइ आदानप्रदान गर्न थालेका छन् । अन्तरपालिका समन्वयात्मक बैठकका माध्यमबाट पालिकाहरुले अनुभव र सिकाइहरु आदानप्रदान गर्न थालेका हुन् । 

स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएसंगै पालिकाहरुका कामलाई प्रभावकारी बनाउन अन्तरपालिका समन्वयात्मक बैठकमार्फत पहल शुरु भएको पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताए । उनले भने ‘हामीले पहिलो पटक अन्तरपालिका समन्वयात्मक बैठक गरेका छौं । यसबाट धेरै कुराको सिकाइ भएको छ । जसले गर्दा भोलिका दिनमा हामीलाई काम गर्न सहज हुनेछ ।’

आइतबार दशरथचन्द नगरपालिकामा आयोजना गरिएको अन्तरपालिका समन्वयात्मक बैठकमा जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो । बैठकले सुशासन, विकास र सेवा प्रवाहका बिषयमा पालिकाहरुबीच साझेदारी गर्ने र असल अभ्यास आदानप्रदान गर्ने निर्णय गरेको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताए । उनले भने ‘बैठकमा हामीले नगरपालिका मार्फत सञ्चालन गरिएका विकास र सुशासनका कामका बारेमा जानकारी गरायौं । यसबाट अन्य स्थानीय तहरुलाई समेत सजिलो भएको छ ।’

पालिकाहरुबीच असल अभ्यासका बिषयमा सिकाइ आदानप्रदान गर्न अन्तरपालिका समन्वयात्मक बैठकले सहज भएको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले बताए । 

यस्तै विपद् व्यवस्थापनका लागि समेत पालिकाहरुले सहयोग आदानप्रदान गर्ने सहमति जनाएका छन् । सीमा जोडिएका पालिकाहरुले विपद् व्यवस्थापनका लागि निरन्तर समन्वय र सहकार्य गर्ने निर्णय भएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए । उनले भने ‘पालिकाहरुबीच असल अभ्यास, समस्या लगायतका बिषयमा छलफल भयो । यसले गर्दा पालिकाको कामलाई अगाडि बढाउन सहज हुन्छ ।’

अन्तरपालिका समन्वयात्मक  बैठकलाई निरन्तरता दिँदै अर्को बैठक आगामी भदौ १५ गते पाटन नगरपालिकामा आयोजना गरिने समेत रावलले बताए । 
 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update