बैतडी –बैतडीमा कोरोनाका सक्रिय संक्रमितको संख्या १४ पुगेको छ । दुईसाता पहिला कोरोना सक्रिय संक्रमित शून्य रहेको बैतडीमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए ।
जिल्लाका ५ ओटा स्थानीय तहमा अहिले सक्रिय संक्रमित रहेका छन् । जिल्लाको दशरथचन्द नगरपालिकामा ६ जना, पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका, सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा १÷१ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै बैतडीमा जिल्ला बाहिरका ४ जना सक्रिय संक्रमित रहेको बताइएको छ ।
भारतसंग सीमा जोडिएको झुलाघाट नाकामा भारतबाट फर्कने नागरिकको नियमित कोरोना परीक्षण समेत भइरहेको सूचना अधिकारी लेखकले बताए ।
बैतडीमा अहिले सम्म ३ हजार ३ सय ५५ जनामा कोरोना पुष्टि भएकोमा ३ हजार ३ सय २२ जनाले कोरोना जितेका छन् । कोरोनाबाट १९ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।




