बैतडी –कोरोना संक्रमणदर बढ्दै गएपछि बैतडी सदरमुकाममा जिल्लास्तरीय होल्डिङ सेन्टर निर्माण गरिने भएको छ । कोरोना परीक्षणमा सहज होस भनेर होल्डिङ सेन्टर निर्माणको तयारी भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
जिल्लास्तरीय होल्डिङ सेन्टर निर्माणका लागि स्थानको खोजी भइरहेको र यसको लागि दशरथचन्द नगरपालिकासंग समन्वय भइरहेको बताइएको छ । केही दिन पहिला बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लास्तरीय होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो ।
सीमा नाका झुलाघाटबाट स्वदेश फर्कने नागरिकमा कोरोना संक्रमण देखिन थालेकाले कोरोनाबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरिएको छ । कोरोनाको संक्रमणदर फेरी एक पटक समुदायस्तरमा पुग्न सक्ने सम्भावना रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए ।
यस्तै प्रत्येक पालिकामा आइसोलेसन र क्वारेन्टाइन तयारी अवस्थामा राख्न समेत भनिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । कोरोना संक्रमणबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए ।




