बैतडी –बैतडीका ८ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले ८ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका देखाएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पुरचौंडी नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिका पहिरोको उच्च जोखिममा रहेका छन् । यस्तै सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
जिल्लाको सुर्नया गाउँपालिका र पाटन नगरपालिका पहिरोको मध्य जोखिममा रहेका छन् । यस्तै जिल्लाका स्थानीय तहहरुमा बाढीको समेत जोखिम रहेको योजनामा उल्लेख गरिएको छ । सिगास गाउँपालिका, दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा अन्य तहको तुलनामा बाढीको जोखिम बढीरहेको बताइएको छ ।
यस्तै जिल्लाभरी जंगली जनावरको आतंक समेत रहेको योजना उल्लेख गरिएको छ । बर्षातको समयमा विपद्का घटना हुन सक्ने भएकाले सम्भावित घटनाहरुबाट जोगिनका लागि आवश्यक उपाय अपनाउनुपर्ने योजनामा उल्लेख गरिएको छ ।
पहिरोका कारण विगतमा जनधनको क्षति भएकाले पनि पहिरोको जोखिम बढीरहेको सूचना अधिकारी भारतीले बताए । बर्षातको समयमा बढी पहिरो खस्ने भएकाले सतर्क हुनुपर्नेमा उनले जोड दिए ।




