Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट जडान, विद्युत नहुँदा सञ्चालनमा समस्या 

बैतडी –जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट जडान गरिएको छ । लामो समयपछि जिल्ला अस्पातलमा अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । प्लान्ट जडानपछि अक्सिजन उत्पादन कार्य समेत शुरु भइसकेको उनले बताए । तर विद्युत जडान नहुँदा अक्सिजन प्लान्ट सञ्चालनमा समस्या भएको अस्पतालले जनाएको छ । 

कोरोना दोश्रो लहर फैलिएका बेला संक्रमितहरुलाई लक्षित गरेर जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने सरकारले निर्णय गरेको थियो । सोही निर्णय अनुसार प्लान्ट जडानका लागि संघीय सरकारले १ करोड ५० लाख र प्रदेश सरकारले ८० लाख रुपैंया बजेट विनियोजन गरेको थियो । अक्सिजन प्लान्ट जडानका लागि १ करोड १७ लाखमा टेण्डर स्वीकृत भएको थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

अक्सिजन प्लान्ट जडान भएपछि विद्युतका लागि अलगै ट्रान्सफर्मरको आवश्यकता पर्ने भएकाले अस्पतालले ट्रान्सफर्मर समेत खरीद गरिसकेको र अब केही दिनमै जडान हुने बताइएको छ । अहिले जेनेरेटरबाट प्लान्ट सञ्चालन गरेर अक्सिजन सिलिण्डर आवश्यक परेको बेला भर्ने गरिएको सूचना अधिकारी पन्तले बताए । प्लान्टबाट दैनिक ९० सिलिण्डर अक्सिजन उत्पादन हुने गरेको छ । 

जिल्ला अस्पतालमै अक्सिजन प्लान्ट जडान भएपछि अब अक्सिजनको अभावमा बिरामीहरुलाई बाहिर रेफर गर्नुपर्ने बाध्यताको अन्त्य भएको जिल्ला अस्पतालका प्रमुख डा. दिपेश श्रेष्ठले बताए । 

कोरोनाको चौथो लहर आउन सक्ने चेतावनी आइरहेका बेला बैतडी अस्पतालमा अक्सिजन प्लान्ट जडान भएपछि अब कोरोनाका बिरामीहरुलाई समेत सहज हुनेछ । यसका साथै अन्य बिरामी र शल्यक्रिया सेवालाई पनि प्रभावकारी बनाउन सहयोग मिल्ने डा. श्रेष्ठले बताए । 

जिल्ला अस्पातलमा निकट भविष्यमा ५० शैय्याको सेवा शुरु हुने भएकाले यसका लागि समेत सजिलो हुने बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update