Sagun Khabar
बैतडीको पञ्चेश्वरमा सामाजिक सुरक्षा भत्ता बुझ्नै सकस

 बैतडी –बैतडीको पञ्चेश्वरका नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्न निकै सकस भएको छ । बैंक मार्फत सामाजिक सुरक्षाको रकम निकासा हुने तर बैंकमा पुग्दा समेत भत्ता नपाएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । भत्ताका लागि नबिल बैंकमा पुगेपनि बैंकले पैसा नभएको भन्दै फर्काउने गरेको स्थानीय कलावती भण्डारीले गुनासो गरिन् । उनले भनिन् ‘हामी बुढो मान्छेहरुलाई भत्ता बुझ्न निकै सकस भएको छ । सरकारले सहज रुपमै भत्ता पाउने व्यवस्था गरोस ।’

पहिला पहिला वडामै भत्ता पाइने भएपनि अहिले भत्ता बुझ्नका लागि पालिकास्थित नबिल बैंकमा पुग्नुपरेको अर्का स्थानीय कल्यानसिंह भण्डारीले बताए । बैंकमा पुग्दा समेत सहजै भत्ता पाउने अवस्था नरहेको उनले बताए । उनले भने ‘सरकारले जेष्ठ नागरिकलाई सहज होस भनेर भत्ता दिने गरेको छ । तर हामीलाई भत्ता बुझ्न निकै गाह्रो भइरहेको छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

गाउँपालिकाको वडा नं ३ बाहेकका स्थानीयहरुलाई बैंकमा पुग्न निकै समस्या हुने गरेको बताइएको छ । बर्षातको समयमा वृद्धवृद्धाहरुलाई टाढाको बैंकमा पुग्न समस्या हुने गरेको स्थानीय रमेशसिंह भण्डारीले बताए । सामाजिक सुरक्षा भत्तालाई सहज रुपमा वितरण गर्ने वातावरण मिलाउन आग्रह गरेको भएपनि पालिकाले बेवास्ता गरेको उनले सुनाए । उनले भने ‘हामीले सामाजिक सुरक्षाभत्ता वितरण कार्यलाई व्यवस्थित बनाउन पटक पटक आग्रह गरेका छौं । तर सरकारले हाम्रो आवाज सुनेको छैन् ।’

स्थानीय सरकारले सामाजिक सुरक्षाभत्ता वितरण कार्यलाई प्रभावकारी नबनाउँदा एक बर्ष सम्म भत्ता बुझ्न नपाएको लाभग्राहीहरुले गुनासो गरेका छन् । बल्लतल्ल बैंकमा पुग्दा समेत बैंकले पैसा नभएको भन्दै फर्काउने गरेको गुनासो बढेको छ । 

तर बैंकबाट पैसा नदिएर फर्काएको कुरा नबिल बैंकको कुलाउ शाखाका प्रमुख प्रेम चन्दले अस्वीकार गरे । सेवाग्राहीको भीडभाड हुँदा केही समस्या भएको भएपनि सबैलाई भत्ता वितरण गर्ने काम भइरहेको उनले बताए । 

बैंकमा आउन नसक्ने नागरिकका लागि सम्बन्धित वडामै गएर भत्ता बुझाउने बिषयमा बैंकसंग छलफल भइरहेको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बीना भट्टले बताइन् । सबै सेवाग्राही एकै पटक आउँदा समस्या हुने भएकाले यस्तो समस्या समाधानका लागि पहल भइरहेको उनले बताइन् । 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update