Sagun Khabar
सुदूरपश्चिममा एक बर्षको अवधिमा २ सय ३५ जबरजस्तीकरणीका घटना 

बैतडी–सुदूरपश्चिममा जबरजस्तीकरणी जस्ता गम्भीर अपराधका घटना बढ्दै गएका छन् । प्रहरीको तथ्यांक अनुसार हरेक बर्ष यस्ता घटनाहरुमा वृद्धि हुँदै गएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार गत आर्थिक बर्षमा प्रदेशभरी २ सय ३५ जबरजस्तीकरणीका मुद्दा दर्ता भएका छन् । 
२ सय ३५ मुद्दा मध्ये ९९ जना १८ बर्षमुनिका बालिकाहरुमाथि जबरजस्तीकरणी भएको प्रहरीको तथ्यांक छ । यस्तै १८ देखि ४० बर्षका १ सय २५ जना, ४० देखि ६० बर्षका ८ जना र ६० बर्षमाथिका ३ जना वृद्धामाथि जबरजस्तीकरणी भएको प्रहरीले जनाएको छ । 

यस्तै गत आर्थिक बर्षमा प्रदेशभरी ८९ ओटा जबरजस्तीकरणी उद्योगका मुद्दा दर्ता भएका छन् । २९ जना १८ बर्षमुनिका बालिकाहरुमाथि जबरजस्तीकरणी उद्योग गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै १८ देखि ४० बर्षका ५६ जना महिलामाथि जबरजस्तीकरणी उद्योग गरिएको छ भने ४० देखि ६० बर्षका ४ जना महिलामाथि जबरजस्तीकरणी उद्योग गरिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै गत आर्थिक बर्षमा १२ जनामाथि बालयौनदुराचार भएको प्रहरीले जनाएको छ । प्रहरीमा दर्ता भएका मुद्दा अनुसारको तथ्यांक यो भएपनि कतिपय घटना प्रहरी सम्म नपुगेका हुन सक्ने अधिकारीकर्मीहरुले बताएका छन् । 

मदिरा सेवन, यौन चाहना, रिसीइबी लगायतका कारण महिलामाथि जबरजस्तीकरणीका घटना हुने गरेको प्रहरीले जनाएको छ । यस्ता घटनामा धेरैजसो नजिकका आफन्तहरुको संलग्नता रहेको समेत प्रहरीले जनाएको छ । बलात्कार जस्ता जघन्य अपराधमा चिनजानका मानिस र आफन्तहरुकै बढी संलग्नता रहेको प्रहरीले जनाएको छ । 

विभिन्न खालका गलत प्रवृतिका कारण बलात्कार जस्ता जघन्य अपराध बढ्दै गएको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए । लागू औषध, मोबाइल तथा प्रविधिको दुरुपयोग लगायतका कारणले यस्ता घटना बढीरहेका उनले बताए । यस्ता खालका अपराध न्यूनीकरणका लागि सामाजिक सचेतनाका कार्यक्रम अघि बढाउनुपर्नेमा अवस्थीले जोड दिए । 
 

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update