Sagun Khabar
बैतडीको मेलौलीमा नमूना कृषि गाउँ बाँझै 
तस्बिर : भम्ता–खोरडा मुख्यमन्त्री नमुना कृषि गाउँको बाँझो रहेको जमीन

बैतडी –बैतडीको मेलौली नगरपालिका ८ कोटीगाउँस्थित  भम्ता–खोरडा मुख्यमन्त्री नमुना कृषि गाउँ तीन बर्षदेखि बाँझो रहेको छ । प्रदेश सरकारले नमूना कृषि गाउँ बनाउनका लागि बजेट विनियोजन गरेर समिति गठन गरेको भएपनि अहिले सो क्षेत्र गौचरनमा परिणत भएको छ । 

लिफ्ट सिँचाई र तरकारी खेतीका लागि अलग–अलग योजना बनाएर दुई करोड ४३ लाख रुपैंया खर्च भएपनि नमूना तरकारी गाउँ बाँझै रहेको हो । नमूना कृषि गाउँमा पोलिहाउसका लागि गाडिएका फलाम खम्बाहरुमा खिया लागेको छ भने जमीन अहिले गौचरणमा परिणत भएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

सुर्नया नदीबाट लिफ्ट गरेर सिँचाईका लागि पानी ल्याउने योजना र तरकारी खेतीको योजना अलग अलग भएको सिँचाइ उपभोक्ता समितिका अध्यक्ष बहादुरसिंह ठगुन्नाले बताए । शुरुको बर्षमा सिँचाइका लागि आएको बजेटका बिषयमा आफूलाई थाहा नै नभएको उनले दाबी गरे । अहिले सम्म सिँचाई योजनामा मात्रै १ करोड ३८ लाख रुपैंया खर्च भइसकेको छ भने चालु आर्थिक बर्षमा पनि सो योजनाका लागि २० लाख रुपैँया विनियोजन भएको छ । 

यता तरकारी खेतीका लागि पनि कृषि ज्ञान केन्द्र मार्फत १ करोड ५ लाख रुपैंया निकासा भइसकेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख गोपालदत्त भट्टले बताए । 

यति रकम खर्च भइसक्दा समेत न सिँचाई योजना सम्पन्न भएको छ न तरकारी खेती नै गरिएको छ । गाउँमा उत्पादन भएको तरकारी राख्न सङ्कलन केन्द्रको भवनसमेत बनिसकेको अवस्थामा गाउँमा तरकारी खेती हुन नसकेको स्थानीय अशोकसिंह विष्टले बताए । 

मुख्यमन्त्री नमूना कृषि गाउँका लागि बजेट आएको भएपनि पानीको अभावमा भने अनुसार कार्यान्वयन गर्न नसकेको तरकारी खेतीको लागि गठन भएको समितिका अध्यक्ष लक्ष्मण लोहारले बताए । चर्चा गरिएजस्तो बाँझो जमीन नभएको तर पानीको अभावमा भने अनुसारको काम गर्न मुस्किल भएको उनको दाबी छ । यो बर्ष पानी पुगिसकेकाले केही दिनभित्रै तरकारी खेती गरिने उनले दाबी गरेका छन् । 

सुदूरपश्चिम प्रदेश सरकारको बजेट दुरुपयोग हुने गरेको चर्चा बाहिर आएका बेला बैतडीको यो योजनाले सो कुरालाई प्रष्ट पार्न थप बल पुगेको छ । नेताहरुको पहुँचका आधारमा बजेट विनियोजन हुने र भने अनुसारको काम नहुने गरेको स्थानीयहरुले गुनासो समेत गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update