Sagun Khabar
दार्चुलाको नौगाडमा श्रम सहकारी मार्फत विकास निर्माणका काम गरिने 

दार्चुला –दार्चुलाको नौगाड गाउँपालिकाले श्रम सहकारी मार्फत विकास निर्माणका काम अघि बढाउने भएको छ । प्रत्येक टोलमा श्रम सहकारी गठन गरेर विकास निर्माणका काम अघि बढाउने तयारी भएको गाउँपालिकाका अध्यक्ष दलजितसिंह धामीले बताए । 

उपभोक्ता समितिको विकल्पमा श्रम सहकारीको अवधारणा अगाडि ल्याइएको हो । प्रत्येक घरका नागरिकलाई श्रम सहकारीमा आवद्ध गराएर उनीहरु मार्फत विकास निर्माणका काम अघि बढाउने तयारी भएको उनले बताए । उनले भने ‘हामीले हरेक नागरिकलाई श्रम सहकारीमा आवद्ध गराउनेछौं । सहकारीमा आवद्ध भएका नागरिकलाई विकास निर्माणका काममा लगाउने निती लिएका छौं ।’

स्वास्थ्य सन्देश
Atrya hospital

श्रम सहकारी सञ्चालनका लागि आवश्यक ऐन र कार्यविधि निर्माण गरिसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामीले बताए । चालु आर्थिक बर्षका योजनाहरु श्रम सहकारी मार्फत नै सञ्चालन हुने उनले बताए । उनले भने ‘हामीले श्रम सहकारी सञ्चालनका लागि आवश्यक कानुन बनाइसकेका छौं । अब केही दिनभित्र सहकारी गठनको काम अघि बढाउने छौं ।’

दशैंपछि गाउँगाउँमा श्रम सहकारी गठन हुने र ती सहकारीहरुलाई पालिकामा दर्ता गरिने अध्यक्ष धामीले बताए । एउटा श्रम सहकारीमा कम्तीमा ३० जना सदस्य हुने व्यवस्था गरिएको छ । एक घर एक रोजगारको नीतिलाई समेत आत्मसात गर्दै श्रम सहकारीको अवधारणा ल्याइएको अध्यक्ष धामीले बताए । उनले भने ‘सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो । स्थानीय सरकारले नागरिकको रोजगारी पहुँच पुर्याउनु पर्दछ भन्ने मान्यता अनुसार हामीले श्रम सहकारीको अवधारणा ल्याएका हौं ।’

श्रम सहकारी मार्फत सञ्चालन हुने योजनाहरु दिगो र गुणस्तरीय हुने अपेक्षा समेत गाउँपालिकाले लिएको छ । उपभोक्ता समिति मार्फत योजनाहरु सञ्चालन गर्दा विभिन्न खालका समस्या आउने गरेकोमा सहकारी मार्फत योजनाहरु सञ्चालन गरेमा त्यस्तो समस्या नआउने अपेक्षा गरिएको छ । 

दार्चुलामा नौगाड गाउँपालिकाले मात्रै श्रम सहकारीको अवधारणा अगाडि ल्याएको अध्यक्ष धामीले दाबी गरे । असोज मसान्तभित्र गाउँगाउँमा श्रम सहकारी गठन गरिसक्ने उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update