Sagun Khabar
भदौ ७ गते गौरा नमनाएका ठाउँमा आजदेखि गौरापर्व शुरु, आज बिरुडा पञ्चमी 

बैतडी – भदौ ७ गते गौरा नमनाएका ठाउँमा सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा सुरु भएको छ । पौराणिक कालमा भगवान  महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झाना स्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको छ । 

यो बर्ष ज्योतिषहरुबीच विवादका कारण दुई गौरा भएका छन् । केही ठाउँमा भदौ ७ गते गौरा मनाइसकिएको छ भने केही ठाउँमा आजदेखि गौरापर्व शुरु भएको छ । गौरापर्व भाद्र शुक्ल अथवा कृष्ण पक्षमा पर्ने भन्दै आजदेखि गौरा शुरु भएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । 

Atrya hospital

गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् ।

गौरा पर्वको पहिलो दिन महिलाहरुले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाएका छन् । ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामुहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको सुर्नया ६ का हरिना अवस्थीले बताइन् । 

गौरापर्व सुदूरपश्चिमको मौलिक चाड रहेको समेत उनले बताइन् ।यो पर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिरुडापञ्चमीकै दिनदेखि ब्रतालु महिलाहरुले गौराको पूजाआजा गर्ने गरेका छन् । 

यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर तामा वा पित्तलका भाडामा बिरुडा भिजाएका छन् । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ । 

शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रही  आएको छ । गौराको समयमा विभिन्न खालका ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत लगायतका खेलहरु पनि खेल्ने चलन रही आएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update