Sagun Khabar
सुदूरपश्चिमको राजधानी  डडेल्धुरा सार्ने गृहकार्य

पहिलो प्रदेशसभाको दुईतिहाइ बहुमतबाट कैलालीको गोदावरी नगरपालिका ४ तेघरीको जंगल क्षेत्रमा प्रदेश राजधानी बनाउने निर्णय गरेको ५ वर्षपछि सुदूरपश्चिम प्रदेशको राजधानी नयाँ ठाउँमा सार्ने विषयमा बहस सुरु भएको छ।

तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले २०७९ वैशाख २७ गते डडेलधुरामा चुनावी सभालाई सम्वोधन गर्दै प्रदेश राजधानी डडेलधुरामा सार्न सकिने बताएको डेढ वर्षपछि प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले डडेलधुरा पुगेर प्रदेश राजधानी सार्न सकिने अभिव्यक्ति दिएका थिए।

हाल राजधानीको उक्त विषयले फेरि महत्त्व पाएको छ। गत बुधबार मुख्यमन्त्री शाहले डडेलधुरामा आयोजित पत्रकार सम्मेलनमा राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिका ४ तेघरी जंगल क्षेत्रमा वनको विवादका कारण संरचना बनाउन नसकिएकाले राजधानी सार्न सकिने बताए।

स्वास्थ्य सन्देश
Atrya hospital

मुख्यमन्त्री शाहले आवश्यकता भए प्रदेश राजधानी र नामसमेत परिवर्तन गर्न सकिने बताएका थिए।

मुख्यमन्त्री शाहले यस विषयले प्रदेशसभाभित्र प्रवेश नपाए पनि आवश्यकता अनुसार राजधानीका विषयमा छलफल सुरु हुनसक्ने बताएका छन्। उनले राजधानी कहाँ सार्ने भन्ने विषयमा भने केही बताएनन् । कांग्रेस सभापति देउवाकै गृहजिल्ला पुगेर मुख्यमन्त्री शाहले राजधानी सार्ने अभिव्यक्ति दिएपछि प्रदेश राजधानी सार्ने गृहकार्य सुरु भएको बताइन्छ।

कांग्रेस सभापति देउवाको गृहजिल्लाबाट आगामी निर्वाचनमा उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु देउवा निर्वाचन लड्ने तयारी स्वरुप प्रदेश राजधानी डडेलधुरा सार्ने गृहकार्य भइरहेको मुख्यमन्त्री निकट एक सांसदले बताए। ती सांसदले भने, ‘कैलाली क्षेत्र नं ५ बाट एक पटक पराजित भएपछि डा आरजु देउवा डडेलधुरालाई निर्वाचन क्षेत्र बनाउने तयारीमा छिन् ।’

निर्वाचनताका सभापति देउवाले दिएको आश्वासन पनि सम्वोधन हुने र आगामी निर्वाचन लड्न पनि सजिलो हुने भएकाले राजधानी सार्ने गृहकार्य हुन लागेको उनले दाबी गरेका छन्। गत निर्वाचनमा डडेलधुरामा प्रदेश राजधानी प्रमुख चुनावी मुद्दा बनेको थियो। तत्कालीन प्रधानमन्त्री देउवाले भनेका थिए, ‘कांग्रेसलाई जिताउनुहोस् राजधानी डडेलधुरा सार्ने कुरा धेरै ठूलो विषय होइन ।’

प्रदेशसभामा गठबन्धन दलहरुसँग दुईतिहाइ बहुमत पनि छ। सत्ता पक्षको अर्को ठूलो दल माओवादीका संसदीय दलका नेता पनि डडेलधुराबाटै निर्वाचित खगराज भट्ट छन्। राजधानी डडेलधुरा सार्ने विषयमा माओवादी पनि सकारात्मक हुनसक्छ ।

’५ वर्षसम्म वन विवादका कारण तोकिएको प्रदेश राजधानीमा भौतिक संरचना पनि निर्माण हुन सकेको छैन,’ देउवा नजिकका प्रदेशस्तरीय एक कांग्रेस नेता पनि डडेलधुरा राजधानी सार्न सकिने उपयुक्त वातावरण भएकाले गृहकार्य सुरु भएको बताउँछन्।

‘मुख्यमन्त्री शाहले डडेलधुरा पुगेर राजधानी सार्ने अभिव्यक्ति दिनु संयोग मात्र होइन,’ देउवा नजिकका ती नेताले भने ‘तराईमा विवादरहित ठाउॅं भेटिन गाहृो पनि छ सबै जिल्लाबाट समान दूरीमा रहेकाले डडेलधुरा राजधानी सार्ने गृहकार्य सुरु भएको हो।’

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभाका प्रमुख सचेतक विक्रम धामी भने यस विषयमा संसदीय दल र पार्टी भित्र कुनै छलफल नभएको बताउँछन्। प्रमुख सचेतक धामीले भने, ‘मुख्यमन्त्रीले अभिव्यक्ति दिएको कुरा बाहिर आएको छ तर पार्टीभित्र र संसदीय दलभित्र यस विषयमा कुनै पनि छलफल भएको छैन।’

कांग्रेसका प्रदेश सभापति कैलाली क्षेत्र नं ४ बाट निर्वाचित सांसद वीरबहादुर वलायरले पनि राजधानी सार्ने विषयमा अहिलेसम्म पार्टीका कुनै पनि कमिटीमा छलफल नभएको बताए। सांसद वलायरले भने, ‘यस विषयमा मलाई कुनै जानकारी छैन ।’

उनले राजधानीका विषयमा पटक पटक संसदमा आफू बोलेको भन्दै उनले भने, ‘तर राजधानी सार्ने विषयमा पछिल्लो पटक कुनै पनि छलफल पार्टीभित्र भएको छैन।’ प्रदेश राजधानी तोकिएको क्षेत्रमा वनको विवादका कारण अन्यत्र सार्नुपर्ने विषयमा भने वलायर पनि सकारात्मक रहेका छन्। तर उनी कैलाली क्षेत्र नं ४ भन्दा बाहिर राजधानी लैजाने विषयमा भने सहमत छैनन् ।

अघिल्लो प्रदेशसभाले २०७५ असोज १२ गते प्रदेश राजधानी कैलालीको गोदावरी नगरपालिका ४ तेघरीमा निर्माण गर्ने निर्णय गरेको थियो। तत्कालीन माओवादी र एमालेका ३८ जना सांसदले पक्षमा मतदान गरेका थिए भने नेपाली कांग्रेसका १२ र राजपाका २ सांसदले मतदान प्रक्रियामा भाग लिएका थिएनन्।कान्तिपुरबाट

 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update