Sagun Khabar
बैतडीको महारुद्र र शिवनाथ धाममा सोेमबार र मंगलबार जात्रा 

बैतडी–बैतडीका प्रसिद्ध धार्मिक स्थलमध्येका महारुद्र धाम र शिवनाथ धाममा यही मंसिर ४ र ५ गते जात्रा लाग्ने भएको छ । पाटन नगरपालिका –२ स्थित महारुद्र धाममा कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्ने गरेको स्थानीय नन्दसिंह ऐरले जानकारी दिए । 

सप्तमीका दिन सिमोडास्थित भण्डार घरबाट भण्डार लगेर महारुद्र धाममा जात्रा शुरु हुने उनले बताए । महारुद्र धाममा कार्तिक शुक्ल सप्तमीको राति र अष्टमीको बिहान पूजाआजासहित जात्रा हुने गरेको मन्दिरका पूजारी शिवदत्त अवस्थीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

महारुद्र देवताको भण्डार घर सिमोडाबाट बाजागाजासहित जात्रा जाने गर्दछ । सो जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने उनले बताए । महारुद्र देवताको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 

कार्तिक शुक्ल अष्टमीको बिहान महारुद्र देवताको पूजाआजापछि सोही पूजा सामग्री लिएर बेताल देवताको मन्दिरमा समेत जात्रा हुने गरेको ऐरले बताए । 

यस्तै शिवनाथ गाउँपालिकास्थित शिवनाथ धाममा पनि मंसिर ४ र ५ गते जात्रा लाग्दैछ । सो मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्ने गरेको छ । 

शिवनाथ मन्दिरको जात्रामा दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् । यो जात्रामा छालाको भकुण्डो खेल्ने चलन समेत रही आएको छ ।

शिवनाथ धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।  
 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update