Sagun Khabar
 नेकपाका वडा कमिटी अध्यक्ष पन्तद्वारा पार्टी परित्यागको घोषणा

बैतडी– बैतडीको पाटन नगरपालिका वडा न. १० का नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वडा कमिटी अध्यक्ष देव दत्त पन्तले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका छन् । विगत २१ वर्षदेखि निरन्तर पार्टीमा सक्रिय रहँदै आएका पन्तले शुक्रबार सामाजिक संञ्जालमार्फत विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको जानकारी गराएका हुन् ।

पार्टीभित्र बढ्दै गएको बेथिति, घुसखोरी र कमिसनखोरीप्रति आपत्ति जनाउँदै उनले पार्टी परित्याग गरेको घोषणा  गरेका हुन् ।

सामाजिक संवालमा  पार्टीका अगुवा कार्यकर्ताहरूमा चरम लापरवाही, सेटिङ र कुसंस्कार हाबी भएको र यस्ता गलत प्रवृत्तिले देश विकासमा अवरोध पु¥याउने भएकाले पार्टीमा बसिरहन नसकिएको पन्तले उल्लेख गरेका छन् ।

“मैले दुई दशकभन्दा बढी समय आफ्नो क्षमता, समय र श्रमले भ्याएसम्म पार्टीको नीति, सिद्धान्त र संगठनका लागि योगदान गरेँ,“ पन्तले विज्ञप्तिमा भनेका छन्, “तर पार्टीभित्रका कुरीति र बेथितिलाई आत्मसात् गर्न नसकिने र मेरो व्यक्तिगत विचार तथा राजनीतिक मान्यता अनुसार अघि बढ्न नसकिने निष्कर्षमा पुगेर यो निर्णय लिएको हुँ ।"

पन्तले आफ्नो लामो राजनीतिक यात्राका क्रममा साथ र सहयोग पु¥याउने सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूप्रति आभार व्यक्त गरेका छन् । पार्टी छाडे पनि आगामी दिनमा जनताको हकहित, सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा क्षमता अनुसार निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ६, २०८३  १४:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update