
बैतडी- कपिलवस्तुमा भएको बस दुर्घटनामा बैतडी घर भएका एक जनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका वडा नं २ दुर्गास्थान मुल घर भएका २७ वर्षिय राहुलराम कामीको यहि फागुन ३ गते बस दुर्घटनामा मृत्यु भएको हो । वैदेशिक रोजगारीका लागि मलेसिया जान काठमाण्डौँ गइरहेका राहुल कपिलवस्तुको शिवनगरमा भएको बस दुर्घटनामा अस्ताएका हुन् ।
कमाउन विदेश जान बस चढेर काठमाण्डौँ जाँदै गरेका राहुल बाटोमै अस्ताएपछि घरपरिवारको बिच्चली भएको छ । हाल कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं १ ब्राहकुण्ड बस्दै आएका उनको परिवार शोकमग्न भएको छ । राहुलको घरमा एक छोरा, एक छोरी र श्रीमती रहेका बताइएको छ ।
घरपरिवार खुसि राख्ने सपना बोकेर विदेश जान हिँडेको छोरो बिचबाटोमा अस्तापछि आमा सिताको आँशु रोकिएको छैन् भने श्रीमती बविता बेहोश छिन् । कलिलै उमेरका राहुल गन्तव्यमा नपुग्दै दुर्घटनामा परेर अस्ताएपछि परिवारका सपनासमेत सेलाएका छन् । घरको कमााउने मान्छेको नै दुर्घटनामा परेर मृत्यु भएपछि परिवार असह्य पीडामा छ।
गत बिहीवार कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा १० जनाको ज्यान गएको थियो । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस दुर्घटनामा परेको थियो ।