Sagun Khabar
जंगली बँदेलले बालीनाली नष्ट गर्दा किसान चिन्तित 

बैतडीका विभिन्न स्थानमा लगाएको हिउँदे बाली र तरकारी जंगली बँदेलले नष्ट गर्न थालेपछि किसानहरु समस्यामा परेका छन् । खडेरीका कारण सप्रिन नपाएको बालीमा जंगली बँदेलले समेत नोक्सान गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । रातीको समयमा झुण्डमा आउने बँदेलको समूहले गहुँबाली सखाप पार्न थालेको सुर्नया गाउँपालिका ६ का किसान नन्दराम अवस्थीले जानकारी दिनुभयो ।

रातीको समयमा आउने बँदेलको समूहले बारीमा लगाएको गहुँ,तरकारी र उखुबाली उखेलेर नष्ट गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘पछिल्लो १० बर्ष यता जंगली बँदेलले बालीनालीमा व्यापक क्षति पुर्याउन थालेको छ । हिउँदे र बर्खे दुवै बालीमा जंगली बँदेलले नोक्सान गर्दा भोकमरी हुने गरेको छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

जंगली बँदेलले बालीनालीमा क्षति पुर्याउन थालेपछि लेकाली क्षेत्रमा गरिने आलुखेती समेत किसानहरुले छोडेका छन् । जंगली बँदेलले बारीमा लगाएको सबै आलु खान थालेपछि आलु लगाउन छोडिएको सुर्नया ६ का मुरलीप्रसाद अवस्थीले बताउनुभयो । लेकाली क्षेत्रमा फल्ने स्थानीय आलु अहिले पाउनै मुस्कील भएको छ ।

बँदेलका कारण हिउँदेबाली जोगाउन मुस्कील भएको उहाँले बताउनुभयो । हरेक बर्ष जंगली बँदेलले बालीनालीमा व्यापक क्षति पुर्याउन थालेपछि कतिपय ठाउँका किसानहरुले बालीनाली लगाउनै छोडेका छन् ।

जिल्लाका सबै जसो स्थानीय तहमा जंगली बँदेलको आतंक रहेको किसानहरुले बताएका छन् । जंगली बँदेलले बालीनालीमा बर्षेनी क्षति पुर्याउने गरेको दशरथचन्द नगरपालिका १ का किसान बीरबहादुर टेरले बताउनुभयो । उहाँले भन्नुभयो ‘बँदेलले तरकारी, खाद्यबाली मात्रै नभएर फलफूलका बेर्ना समेत उखेल्ने गरेको छ । यसले गर्दा फलफूलका नर्सरी बनाउने किसानहरुलाई समेत समस्या भएको छ ।’

जंगली बँदेलले बालीनाली नष्ट गर्न थालेपछि किसानहरु हैरान भएका छन् । बर्षेनी बालीनालीमा क्षति व्यहोरे पनि उनीहरुले क्षतिपूर्ती भने कुनै निकायबाट पाउन सकेका छैनन् । कृषि क्षेत्रमा स्थानीय सरकारले ध्यान नदिएको किसानहरुको गुनासो छ ।
 

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update