Sagun Khabar
बालविवाह अन्त्यका लागि  धार्मिक अगुवाहरुसंग छलफल 

बैतडी–बैतडीमा बालविवाह अन्त्यका लागि धार्मिक अगुवाहरुसंग छलफल गरिएको छ । बालविवाह रोक्नका लागि धार्मिक अगुवाहरुको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरुसंग छलफल गरिएको हो ।

बालविवाह न्यूनीकरणको क्षेत्रमा क्रियाशील संस्था परोपकार ग्रामीण विकास संघले बुधबार पाटन नगरपालिका–२ मा धार्मिक अगुवाहरुसंग बालविवाह न्यूनीकरणका बिषयमा छलफल गरेको हो । 

बालविवाह अन्त्यका लागि गल्स फस्ट फण्डको सहयोगमा कार्यक्रम सञ्चालन गरिरहेको संघले धार्मिक अगुवाहरुसंग अन्तरक्रिया र छलफल गर्दै आएको संस्थाकी कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन् । 

समाजमा अझै पनि विभिन्न कारणले बालविवाह भइरहेकाले यसको अन्त्यका लागि धार्मिक अगुवाहरुसंग छलफल गर्ने गरिएको उनले बताइन् । उनले भनिन्,‘बालविवाह अन्त्यका लागि धार्मिक अगुवाहरुको महत्वपूर्ण योगदान हुन्छ । त्यसैले हामीले बेला–बेलामा उनीहरुसंग छलफल गर्दै आइरहेका छौं ।’

छलफलमा सहभागी धार्मिक अगुवाहरुले पछिल्लो समयमा बालविवाह केही न्यूनीकरण भएपनि चुनौती भने कायमै रहेको बताएका छन् । भागी विवाहका कारण समस्या भइरहेकाले यसको नियन्त्रणका लागि पहल चाल्नुपर्नेमा उनीहरु एकमत भएका छन् । 

बालविवाह विकासको बाधक भएकाले आफूहरुले अहिले २० बर्षपछिमात्रै विवाह गर्न सुझाव दिने गरेको पाटन–२ का गणेशसिंह ऐरले बताए । कम उमेरमै विवाह गर्दा विवाह गर्दा जीवनभरी समस्या हुने भएकाले बालविवाह नगर्न आफूहरुले सल्लाह दिने गरेको उनको भनाइ छ । 

बालविवाह समाज विकासको बाधक भएकाले यसको अन्त्यका लागि सबै पक्ष लाग्नुपर्नेमा पाटन नगरपालिका–२ का अध्यक्ष महेशप्रसाद पन्तले जोड दिए । उनले भने, ‘बालविवाह सबैको सरोकारको बिषय हो । यसको अन्त्यका लागि समाजका हामी सबै जुट्नु आवश्यक छ ।’

परोपकार ग्रामीण विकास संघले पाटन नगरपालिका वडा नं २ र ६ मा बालविवाह न्यूनीकरण र किशोरकिशोरीहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष लोकेन्द्रप्रसाद पन्तले बताए । 
किशोरकिशोरीहरुको समग्र विकासमा बालविवाहले असर पार्ने भएकाले बालविवाह अन्त्यका लागि सबैले जुट्नुपर्नेमा उनले जोड दिए । 

मुलुकी देवानी संहिता २०७४ ले हाल महिला तथा पुरुष दुवैले २० वर्ष नपुगी गरेको विवाह स्वतः बदर हुने व्यवस्था गरेको छ । साथै तोकिएको उमेर नपुगी बालविवाह गर्ने तथा गराउने दुवै पक्षलाई तीन वर्षसम्म कैद र तीस हजारसम्म जरिवानाको सजाय तोकिएको छ ।

मुलुकी देवानी संहितामा तोकेको उमेर नपुगी भएको विवाह स्वतः बदर तथा प्रारम्भदेखि नै अमान्य हुने व्यवस्था भएपनि पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन् । यसले विभिन्न जटीलताहरु देखापरेका कतिपय सरोकारवालाहरुले बताएका छन् । 

त्यसैगरी कानुनले तोकेको उमेर नपुगी पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मेको भए पनि सोही कारणले पुरुष र महिलाबीच स्वतः विवाह भएको नमानिने समेत उल्लेख छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update