Sagun Khabar
गुरुखोलाले जित्यो उदयदेव–पाटन प्रिमियर लिगको उपाधि 

बैतडी –बैतडीको पाटनमा सम्पन्न पाँचौं संस्करणको उदयदेव–पाटन प्रिमियर लिग (युपीएल)को उपाधि कोइनडा गुरुखोला लायन्सले हात पारेको छ । गुरुखोलाले लगातार दोश्रो पटक उपाधि जितेको हो । गत बर्ष पनि गुरुखोलाले उपाधि हात पारेको थियो । 

आज सम्पन्न फाइनल खेलमा हिमचुली युवा सदनलाई ७ विकेटले पराजित गर्दै गुरुखोलाले उपाधि हात पारेको हो । 

जितसँगै गुरुखोलाले १ लाख ३५ हजार ७ सय ९१ रुपैयाँ नगद पुरस्कार हात पार्यो भने उपविजेता हिमचुलीले ५६ हजार ७ सय ७९ रुपैयाँ प्राप्त गरेको छ । 

जितका लागि पाएको १ सय १० रनको लक्ष्य गुरुखोलाले ९.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । जसमा गजेन्द्र बोहराले सर्वाधिक ४३ रनको योगदान गरे । उक्त खेलमा हिमचुलीका पारस बिष्टले दुई विकेट लिए । 
श्रीकृष्ण माविको खेलमैदानमा पाटनमा पहिला ब्याटिङ गरेको हिमचुलीले १७.५ ओभरमा १ सय ९ रनमात्रै बनाउन सक्यो । उसका ऋषिकेश बोहराले सर्वाधिक १७ रन बनाए । गुरुखोलाका कैलाश ऐरले चार विकेट लिए । उनी प्लयेर अफ द फाइनल समेत चुनिए । 

हिमचुलीकातर्फबाट खेलेका ऋषिकेश बोहराले प्रतियोगिता भरी ११० रन र ७ विकेट हात पारेका थिए । उनी प्लेयर अफ द सिरिज भए । 

वनारसी क्रिकेट टीमबाट खेलेर १८४ रन बनाएका अभिषेक पाल बेस्ट ब्याटर भए भने गुरुखोलाबाट खेलेका राम चन्दले प्रतियोगितामा ७ विकेट लिएर बेस्ट बलर छानिए । 

पाटन एकता समाज (ख)का समीर भण्डारी उदयीमान खेलाडी चुनिए । उनले ४ हजार ४४४ रुपैयाँ नगद पुरस्कार पाए । 

म्यान अफ द सिरिजले १२ हजार ३४५, बेस्ट बलर र ब्याटरले जनही ५ हजार ६७८ रुपैयाँ पुरस्कार पाए । 

प्रतियोगितामा विजेता, उपविजेता अन्य पुरस्कार जितेका खेलाडीहरुलाई पाटन एकता समाजका अध्यक्ष किरण चन्द, पाटन नगर प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा, बैतडी क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्द लगायतले पुरस्कार वितरण गरे । 

पाटन एकता समाजको आयोजना र पाटन नगरपालिकाको प्रायोजनमा भदौ २५ गतेबाट सञ्चालन भएको प्रतियोगितामा १३ टीमको सहभागिता रहेको थियो । 

स्थानीयस्तरमा सञ्चालन भएको यो प्रतियोगिताले नयाँ खेलाडी उत्पादन र खेलाडीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । 


 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update