Sagun Khabar
बाजुरा बस दुर्घटना : बैतडी घर भएका घाइते सहचालक जोशीको मृत्यु

बैतडी –बाजुरामा बस दुर्घटना हुँदा घाइते भएका सहचालकको मृत्यु भएको छ । 

मार्तडी कोल्टी सडकमा पर्ने बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना हुँदा घाइते भएका बैतडीको दशरथचन्द नगरपालिका–९ का २७ वर्षीय गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । उनको शनिबार राति १० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

मृतक जोशीको शव जिल्ला अस्पताल बाजुरामा रहेको र उनका आफन्त अहिले बाजुरा पुगेका स्थानीय दिनेश जोशीले बताए । 

मृतक जोशीको घरमा श्रीमती, एक छोरा र आमा रहेका छन् । घरको कमाउने मान्छेको निधन भएपछि जोशी परिवार समस्यामा परेको छ । मृतक जोशीका दाजु र बुवाको समेत केही बर्ष अगाडिमात्रै निधन भएको थियो । 
बस दुर्घटनामा परी घाइते भएका आठ जनालाई भने थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । घाइतेलाई शनिबार राति नै एम्बुलेन्स र जिपमार्फत धनगढी पठाइएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए । 

स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका २३ वर्षीय विशाल शाही, बूढीनन्दा नगरपालिका–६ छातीकोटका १९ वर्षीय उमेश भाट, सोही नगरपालिका–५ बस्ने २४ वर्षीया जमुना मल्ल, सोही नगरपालिका–५ छातीकोट बस्ने सात वर्षीया लक्ष्मी मल्ललाई थप उपचारका लागि पठाइएको सूचना अधिकारी गिरीले बताए । 

यस्तै, बूढीगङ्गा नगरपालिका–९ जुवापानी बस्ने २२ वर्षीया पवित्रा सिंह, उनकी दुई वर्षीया छोरी जेनिशा सिंह, पाँच वर्षीया पल्ले सिंह, जेसिका सिंह र बूढीनन्दा नगरपालिका–७ सास्ता बस्ने ४५ वर्षीया इसरा देवी सुनारलाई थप उपचारका लागि धनगढी पठाइएको छ । 

कोल्टीबाट धनगढीका लागि छुटेको सुप.प्र. ०१–००१ ख ३१८१  नम्बरको बस सडकमा रोकेर सामान छतमा राख्ने क्रममा एकाएक पछाडि गएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस दुर्घटनापछि चालक फरार रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update