Sagun Khabar
शक्तिशाली आणविक संयन्त्र निर्माण गर्ने इरानको घोषणा, हतियार उत्पादन नगर्ने दाबी

इरानले रुसको सहयोगमा आठ वटा नयाँ आणविक ऊर्जा संयन्त्र निर्माण गर्ने घोषणा गरेको छ । इरानको आणविक ऊर्जा सङ्गठन (एइओआई) का प्रमुख मोहम्मद एस्लामीका अनुसार यो परियोजना इरानको स्वच्छ र दिगो ऊर्जा उत्पादन क्षमतालाई विस्तार गर्न महत्त्वपूर्ण हुनेछ ।

इरान र रुसबीच बुसेहरमा चारवटा तथा उत्तरी र दक्षिणी तटरेखामा चार वटा आणविक ऊर्जा संयन्त्र निर्माणका लागि नयाँ सम्झौता सम्पन्न भएको तस्निम समाचार संस्थाले जनाएको छ । यी संयन्त्रहरूबाट झन्डै २० हजार मेगावाट आणविक विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको इरानले बताएको छ ।

रुसी सञ्चार संस्था ‘तास’ले इरानको उत्तरी गोलेस्तान प्रान्तमा एउटा नयाँ आणविक संयन्त्रको निर्माण शुरु भइसकेको जानकारी दिएको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो देश ‘शान्तिपूर्ण आणविक कार्यक्रम’ प्रति प्रतिबद्धता रहेको भन्दै कुनै पनि परिस्थितिमा आणवक हतियार निर्माण नगर्ने बताउनुभएको छ ।

पश्चिमी शक्तिहरूले स्वतन्त्र राष्ट्रहरूलाई उन्नत प्रविधिबाट वञ्चित गरी निर्भर बनाउने प्रयास गरेको उहाँको आरोप छ । सन् २०२५ को जुन महिनामा इजरायलले इरानका आणविक प्रतिष्ठान लक्षित हवाई आक्रमणहरू गरेपछि अमेरिकाले पनि साथ दिएको थियो ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले आफ्ना आणविक सुविधाहरू पुनः सञ्चालन गरेमा अमेरिका नयाँ सैन्य कारबाहीका लागि तयार हुने चेतावनी दिनुभएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update