
नेपालको धार्मिक–सांस्कृतिक परम्परामा कुशेऔँसी विशेष महत्व बोकेको दिन हो । भाद्र कृष्ण औँसीका दिन पितृहरूको स्मरण गर्दै घर घरमा कुश राख्ने र पितृ श्राद्ध गर्ने प्रचलन छ । यसै दिनलाई नेपाली समाजमा बाबाको मुख हेर्ने दिन पनि भनिन्छ ।
हाम्रो संस्कृतिले बाबालाई पितृदेवो भवः अर्थात् देवताको समान मानेको छ । आमाको माया गहिरो सागर जस्तै हुन्छ भने बाबाको माया दृढ पहाड जस्तै—शान्त, स्थिर तर जीवनभरको आधार । बाबाको अनुहार हेर्ने दिनले हामीलाई सम्झाउँछ, हामी जहाँ पुगेका छौँ, त्यो उनीहरूले गरेका संघर्ष र त्यागकै कारण हो ।
यस दिन छोराछोरीले बाबालाई मिठो खान खुवाउने, भेट्ने, आशीर्वाद लिने र सम्मान गर्ने परम्परा छ । टाढा परदेशमा रहेका सन्तानहरूले पनि बाबालाई सम्झेर फोन वा सन्देश पठाउने गर्छन् । जिन्दगीमा बाबासँग बिताएका क्षण अमूल्य निधि हुन्, जसलाई कुशेऔँसीले अझ बलियो बनाउँछ ।
तर, जसका बाबा अब यस संसारमा छैनन्, उनीहरूका लागि यो दिन झन् भावुक हुन्छ । बाबाको सम्झना, उनको अनुहार, मायालु शब्द र आशीर्वाद मनभित्र ताजै हुन्छन्। । पितृ तर्पण र श्राद्ध गरेर, उनका नाममा पुण्य गरेर स्मरण गरिन्छ ।
अन्त्यमा, कुशेऔँसी र बाबाको मुख हेर्ने दिनले हामीलाई एउटा ठूलो संस्कार सिकाउँछ । आमाबाबा जीवित हुँदा तिनीहरूको सेवा र सम्मान गर्न सकियोस र दिवंगत भएपछि श्रद्धा र स्मरण मार्फत सदैव आभारी रहन सकियोस् ।
शुभ कुशेऔँसी ! सबै बाबाहरूप्रति नमन
लेखक भोजराज अवस्थी पाटन बहुमुखी क्याम्पसको स्ववियुका पूर्व सचिव हुन् ।