Sagun Khabar
प्रदेशको भूमिमाबाट बिरामी छोरोको चिठी

पुजनिय जन्म दाता, आमा-बुबा, बादल पारिको देश  पोल्याण्डको यो चिसो भूमिबाट तपाईंलाई सम्झिँदै यो चिठी लेखिरहेको छु। यहाँ आकाश ठूलो देखिन्छ, सडकहरू फराकिलो छन्, घरहरू सुन्दर छन्, तर मेरो मन भने बैतडीकै साँघुरो गोठ, बारीको हरियो मकै, अनि तपाईंहरूको मायालु अनुहारमै अड्किएको छ।

आमा,

केही दिनदेखि शरीरले साथ दिइरहेको छैन। बिहान काममा जाँदा त हिम्मत जुटाउँछु, तर बेलुकी ओछ्यानमा पल्टिँदा ज्वरो र थकाइले शरीरलाई चिमोट्छ। यस्तो बेला तपाईंको सम्झना अझै प्रबल हुन्छ। तपाईं ढुकी-ढुकी भान्साबाट आयोस् भन्ने चाउरी परेको अनुहारमा हाँसो मिसाएर पानी ल्याइदिनुहुन्थ्यो। मलाई सम्झाउँदै भन्नुहुन्थ्यो “बाबु, तिमी ठिक हुन्छस्, ढुक्क हौ।”

बुबा,

तपाईंको हातको सहारा अझै पनि मलाई महसुस हुन्छ। गाउँमा म बिरामी पर्दा तपाईं ढाडमा हात राखेर भन्नुहुन्थ्यो “हिम्मत गर न, छोरो, रोग त चाँडै भाग्छ।” तर यहाँ परदेशमा त्यो हात छैन। पराई भाषामा बोल्ने नर्स छन्, तर उनीहरूका शब्दमा माया छैन, न त आफन्तताको स्वाद। बिरामी पर्दा मन अझै कमजोर हुन्छ पैसा कमाउने सपना र आफ्नो शरीरको अवस्था बीच दोधारमा अड्किन्छु।

आमा-बुबा, परिवारलाई नचिनियोस् भनेर तपाईंलाई फोनमा खासै केही भन्न सक्दिन। आवाज थर्किन्छ, मन रोएर आउँछ, तर वाक्य छोट्याएर “सब ठिक छ” भनेर मात्र भनिरहन्छु। तर वास्तवमा सबै ठिक छैन। परदेशको यो भूमिमा ठिक नभए पनि मुखले ठिक भन्नैपर्ने बाध्यता ठूलो पीडा हो।

मलाई थाहा छ, तपाईंहरू गाउँमा दिनरात मपर्खेर बस्नुहुन्छ। “कति वर्षमा फर्केलान् हाम्रो छोरो?” भन्ने प्रश्न तपाईंको मनमा पनि घोचिरहन्छ होला। यथार्थ के छ भनेघर फर्किन त जहाजको केही घण्टाको यात्रा मात्रै हो, तर त्यो बाटो पैसाले, जिम्मेवारीले, र अधूरा सपनाले छेकिएको छ। ऋण तिर्न बाँकी छ, भाइबहिनीको पढाइ पूरा गर्न बाँकी छ। अनि गाउँलेहरूको आँखामा “परदेशबाट फर्किएको छ” भनेर ठुलो आशा पनि छ। त्यसैले म अझै केही वर्ष बस्नैपर्छ भन्ने मनको आवाजले बाटो रोकेको छ।

तर आमा-बुबा, यही रोग र थकाइका दिनहरूले मलाई सिकाइरहेको छ परदेशले पैसा त दिन्छ, तर परिवारको माया कहिल्यै दिन सक्दैन। यहाँ कमाएको हजारौँ युरोले मनको शून्यता भरिदिँदैन। आँगनको धूलो, बाख्राको म्याउँ, गाउँका साथीहरूको बोलि यी कुरा नै साँचो सम्पत्ति हुन् भन्ने कुरा अहिले अझै राम्ररी बुझेको छु। आमा, मसँग सपना छ ! एक दिन म फर्किन्छु । घरको आँगनमा सानो व्यापार गर्छु, तपाईं-बुबाको हातमा कामको बोझ नरहोस् भनेर केही गर्छु। भाइबहिनीलाई तपाईंले झैँ दुःख सहेर होइन, सजिलै पढ्न सकून् भन्ने व्यवस्था गर्छु।

तर यो सपना पूरा गर्न केही समय अझै परदेशमा टिकिरहनु परेको छ। आमा-बुबा, यो चिठीलाई पढ्दा तपाईंहरूलाई मन भारी नहोस्। म साँचै भन्न चाहन्छु म रोगसँग लडिराखेको छु, हिम्मत हराएको छैन। तपाईंहरूको माया र आशिर्वाद नै मेरो ठूलो औषधि हो। संसारको कुनामा भए पनि तपाईंहरूको सम्झनाले मलाई तागत दिन्छ। आज म यहाँ छु, भोलि म फेरि तपाईंको काखमै हुनेछु।

तपाईंको छोरो, आशिष माल (बैतडी ) हाल पोल्याण्ड)

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update