Sagun Khabar
जिल्ला खेलकुद समिति बैतडी ऋणमा,बजेट शून्य

बैतडी - देशभरका युवामाझ खेलकुदप्रतिको आकर्षण तीव्र रुपमा बढ्दो क्रममा रहेको बेला बैतडीका युवाहरु पनि खेल क्षेत्रमा सक्रिय हुँदै आएका छन् ।

स्थानीय स्तरदेखि राष्ट्रिय प्रतियोगितासम्म सहभागी हुने युवाको संख्या बढिरहेको भएपनि खेलकुद पूर्वाधार र बजेटको अभावले उनीहरूलाई चुनौती थपिएको छ । जिल्ला खेलकुद समिति बैतडीले भने हालसम्म एक रुपैयाँ पनि बजेट नपाएको र पुराना आयोजनाहरूको ऋणमै समिति अड्किएको जिल्ला खेलकुद विकास समितिको कार्यालय बैतडीका निमित्त प्रमुख तर्क राज जोशीले बताए ।

समितिको कार्यालयका निमित्त प्रमुख जोशीका अनुसार, अघिल्ला प्रतियोगिता सञ्चालन गर्दा निजी स्रोत र उधारो रकम प्रयोग गरिएको थियो, जुन अहिले पनि फिर्ता गर्न नसकिएको बताइएको छ । जिल्ला स्तरमा आयोजना गर्न चाहेका धेरै प्रतियोगिताहरू बजेट नहुँदा रोकिएका छन् ।

युवाहरूमा खेलप्रतिको उत्साह र लगाव निकै बढेको छ, तर बजेट र पूर्वाधारको अभावले जिल्ला खेलकुद विकास समिति असहाय बनेका बताइएको छ । बैतडीमा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स लगायतका खेलहरूमा युवाहरूको सहभागिता बढ्दो देखिएको छ । स्थानीय टोलस्तरका क्लब र विद्यालयहरूले साना स्तरका प्रतियोगिताहरू सञ्चालन गरिरहेका छन्, तर सरकारी सहयोग र योजनाको कमीका कारण दीर्घकालीन विकास सम्भव नभएको खेलकर्मीहरूको गुनासो रहेको छ ।

बजेट अभावका कारण खेल क्षेत्रको विकासमा असर परेकाले जिल्ला खेलकुद समितीले खेल पूर्वाधार विकास, खेलाडी बीमा र प्रशिक्षण कार्यक्रमका लागि नियमित बजेट विनियोजन गर्न माग गरेको छ । समितिले आगामी आर्थिक वर्षमा सरकारले जिल्लास्तरका खेलकुद समितीहरूलाई प्राथमिकतामा राख्नुपर्ने बताएको छ ।

राष्ट्रिय खेलकुद नीतिमा स्थानीय स्तरको सशक्तिकरणको आवश्यकता देखिएकाले ,बैतडी जस्ता पहाडी जिल्लाहरूमा खेलकुद पूर्वाधार र बजेट अभावको समस्या अझै पनि गम्भीर चुनौतीका रूपमा रहेको छ। खेलकुद क्षेत्र अनुशासन, नेतृत्व र अवसर सिकाउने माध्यम भएकाले यस क्षेत्रमा सरकारले ध्यान दिनुपर्नेमा जिल्ला खेलकुद विकास समितिको कार्यालय बैतडीका निमित्त प्रमुख जोशीले जोड दिएका छन ।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update