Sagun Khabar
राजधानीमा पढ्ने छोरालाई आमा–बुवाको पत्र

प्रिय छोरा, शुभ आशीर्वाद,
     हामी बुढाबुढी गाउँमा आरामै छौं । गाउँको आँगनमा उब्जेको मकै र कोदो जस्तै, हाम्रा सपना पनि तिम्रै वरिपरि उम्रिएका छन । तिमीलाई राजधानीमा पढाउन अन्न बिक्री गर्यौं, तिम्री आमाले लगाएको गहना बिक्री गर्यौं, हामी दुबै बुढाबुढीले सकी नसकी मजदूरी गरेर खर्चको जोहो गरिरहेका छौँ, तिमीले समातेको कलमले  हाम्रो बुढ्यौली उज्यालो बनाओस् भनेर ।

    मलाई भरोसा थियो, तँ फर्केर आउँदा यो गाउँको अँध्यारो हटाउनेछस् । पूर्खाले छोडेको थकाइलाई तेरो ज्ञानले विश्राम दिनेछ । तँ मेरो मात्र छोरो होइन, यो गाउँको सपना होस्, यो देशको आशा होस् , तर  तँलाई एउटा कुरा भन्नै पर्छ मैले त्यस्तो देख्न कहिल्यै सोचेकै थिइनँ । हाम्रो पुस्ताले समालेर राखेका पौराणिक तथा  पुरातात्विक धरोहर, हाम्रो पुर्खाको सम्झना राख्ने ती वंश परंपरागत ईंट–ढुंगा, आफ्नै पुस्ताले आफ्नै हातले जलाउँछ भनेर । आँखा बन्द गरेर पनि सोच्न सकिनँ कि जेञ्जी भनेर चिनिने तेरो समानका युवा–युवतीहरूले इतिहासमा यति ठूलो क्षति पु¥याउँछन् भनेर ।

       म सधैं पार्टी चौतारामा भनिरहन्थे नयाँ पुस्ता देशको आशा हो, भरोसा हो,उज्यालो हो, भविष्य हो । जब टेलिभिजन र चर्का खबरले देखाइ दियो, धोका भएको जस्तो लाग्यो ।  म बुढो मानिस, गाउँको धर्तीमा बसेर बडेमानले सोचें कि कसरी यति चञ्चल उर्जा गलत दिशातिर गएको होला? अनि अर्को कुरा  मैले त सुनेँ कि कतिपयले प्रयोग गरायो अर्थात् उनीहरूलाई कसैले आफ्नो स्वार्थका लागि नेतृत्व गरायो, तिनीहरूको भावनालाई तताएर बन्दै गरेको विनाशको औजार बनाइयो। यो कुरा सुनिरहँदा मेरो हृदय झन् बल्झेर फुट्ला जस्तो भयो, श्वास रोकिए जस्तो भयो तै पनि समालिए ।

         प्रिय छोरा, म तेरो उमेरको भावना,पिडा,आक्रोस बुज्दछु तर इतिहास जलाउनु र पुरानो विध्वंस गर्नुले केवल क्षति पु¥याउँछ । त्यो क्षतिले त केवल ईंटा ढुङ्गा मात्र होइन, हाम्रो पहिचान, हाम्रो परंपरा र आमाबुवाको स्मृतिलाई पनि जलाउँछ । तेरो हातले यदि ती परम्परा भत्कियो भने, त्यो विरासत काटियो भने, भोलिका पुस्ताले के देखाउनेछ ? के भन्नेछन् हाम्रा सन्तानलाई? हाम्रा पूर्वजहरूले के गरे?भनेर जताततै प्रश्नै  प्रश्न उभिनेछन् । 

         मलाई थाहा छ, केहीले तिमीहरूलाई लिलाम गरे, केहीले भावनालाई खेले। “प्रयोग भयौ“ भन्ने शब्दले मलाई झन् बढी रुवायो किनकि प्रयोग गर्नेहरूले कहिल्यै जिम्मेवारी लिँदैनन् । उनीहरू देखाउँछन्, तताउछन र पछि सबै कुरा बिर्सिन्छन् । तिमीहरू, जो ताजा उर्जा र आदरभावले भरिएका हौ, त्यस प्रवृत्तिलाई चिन्नुपर्छ। साँचो क्रान्ति भनेको वास्तबमा विनाश होइन, परिवर्तन हो, निर्माण हो, न्याय स्थापना गर्ने बुद्धि र साहस हो । 

        प्रिय मेरो छोरा, यदि तिमी साँच्चिकै सुधार चाहन्छौ भने हिंसा बाट हट र ज्ञान र संयमको बाटो रोज। इतिहास नाश गरेर इतिहास बनाउन सकिन्न । जिन्दगीभर तिमीलाई त्यो आरोप सम्झन बाध्य बनाउने काम कुनै नलागोस्। तिमीले आफ्नो शक्ति शिक्षा, संगठन, र संवादमा लगाउँदा  नै दिगो परिवर्तन ल्याउनेछ। एक बुढो बुवाको बिन्ती छ, घर फर्केर आउ, आफ्नो मन ठीक गर, साथीहरूलाई सम्झाउ, र जुन गल्ती भयो त्यसलाई माफी माग्न हिम्मत गर। क्षमाले बिग्रेको कुरालाई जोड्न सक्छ; परिश्रमले नष्ट भएको चीज पनि पुनर्निर्माण हुन्छ। तर त्यो मात्रै सम्भव हुन्छ जब तिमीहरू आफूलाई प्रयोग गर्नेहरूले होइन, आफ्नो विवेक र नैतिकताले चलाउँछौ । 

          प्रिय छोरा, जेजस्तो भए पनि गाउँको आँगन अझै पनि तिम्रो हाँसोको प्रतिक्षामा छ। तेरो पढाइका लागि खेतको अन्न बेच्दा, तेरो सपनामा आफ्नो बुढ्यौली बलिदान गर्दा, म सधैं गर्वले छाती फुलाउँथेँ। तर खबरमा तेरो नाम आएको सुन्दा, मुटु भक्कानिन्छ  तिमीले उठाउनुपर्ने कलमले, इतिहासमा दाग लगायो कि भन्ने डर लाग्छ । छोरा मान्छेले गल्ती गर्छन् तर गल्तीलाई स्वीकार गर्ने साहसले मात्र मान्छेलाई ठूलो बनाउँछ । मेरो सपना अझै तिमीमै छ। फर्केर आउ, बाटो सुधार, भोलि अझै तेरो हातबाटै यो गाउँको अँध्यारो हटोस् ।      

                     
                                 उही तिम्रो बुढो बुवा, गाउँबाट ।


लेखक –भोजराज अवस्थी ‘भुपी’
 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update