Sagun Khabar
भारतको गुजरातमा २ सय ४२ जना बोकेको विमान दुर्घटना

भारतको गुजरातमा रहेको अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ ।

२ सय ४२ जना बोकेर अहमदाबादको मेघानी शहरमा रहेको विमानस्थलबाट बेलायतको लन्डन जान लागेको एअर इन्डियाको उडान नम्बर एआई १७१ विमान दुर्घटनामा परेको बीबीसी हिन्दीले जनाएको छ ।

बोइङ ७८७–८ विमानले उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको नागरिक उड्डयन निर्देशनालयका प्रमुख फैज अहमद किदवईले समाचार एजेन्सी एपीसँग कुराकानी गर्दै एअर इन्डियाको विमान मेघानी नगर भनिने एक आवासीय क्षेत्रमा खसेको बताउनुभएको छ ।

दुर्घटनाग्रस्त विमानमा २ सय ३२ यात्रु, २ चालक र १० क्याबिन क्रु सदस्य रहेका एअर इन्डियाले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा जानकारी दिएको छ ।

विमानमा रहेकामध्ये १ सय ६९ जना भारतका, ५३ जना बेलायतका, सात जना पोर्चुगलका र एक जना क्यानडाका रहेका खबरमा उल्लेख छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई नजिकको अस्पतालमा लगिएको छ । एअर इन्डियाको विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटनामा सबै जना स्तब्ध र दुःखी भएको बताउनुभएको छ । यो दुर्घटना हृदयविदारक र शब्दमा वर्णन गर्न नसकिने रहेको उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update