
बैतडी–बैतडीको प्रसिद्ध रौलाकेदार धाममा दर्शनार्थीहरुको घुइँचो बढेको छ । श्रावण महिना शुरु भएसंगै रौलाकेदार धामको दर्शनका लागि जाने भक्तजनहरुको संख्या बढेको छ ।
हरेक बर्ष साउनको महिना सो धाममा दर्शनका लागि विभिन्न ठाउँबाट भक्तजनहरु पुग्ने गर्दछन् । रौलाकेदारको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । समुद्री सतहबाट २ हजार ९ सय मिटर बढी उचाईमा रहेको रौलाकेदार धाममा कार्तिक शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ भने श्रावण महिनाभरी दर्शनार्थीहरु दर्शन गर्ने गर्दछन् ।
रौलाकेदार धामलाई हिन्दू धर्माबलम्बीहरुको अगाध श्रद्धास्थलको रुपमा लिने गरिएको छ । रौलेश्वर केदारले मनोकामना पूर्ण गर्ने जनविश्वास रही आएकाले सोही अनुसार श्रद्धा गर्ने गरिएको स्थानीयहरुले बताएका छन् ।
रौलाकेदारको उत्पत्ति बद्रीकेदारबाट भएकाले रौलाकेदारको महत्व बद्रीकेदार जत्तिकै रहेको रौलाकेदारका पूजारी विष्णुदत्त भट्टले बताए । रौलाकेदारको दर्शन गरेमा मनोकामना पूर्ण हुने भएकाले सबैको आस्थाको केन्द्र बन्न पुगेको उनले बताए । उनले भने ‘रौलाकेदार अद्भुत शक्ति भएको धाम हो । रौलाकेदारको दर्शन गरेमा मनोकामना पूर्ण हुन्छ । त्यसैले दर्शन गर्न आउनेको संख्या पनि बढ्दै गएको छ ।’
भगवान शिवका १२ ओटा ज्योतिर्लिङ्ग मध्ये रौलाकेदार पनि एक रहेको जानकारहरुले बताएका छन् । नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले रौलाकेदार नै केदारनाथ ज्योतिर्लिङ्ग भएको दाबी गरेका छन् । पूराणमा वर्णित केदारनाथ ज्योतिर्लिङ्ग रौलाकेदार भएको उनको दाबी छ ।
सुर्नया गाउँपालिका–५ मा रहेको रौलाकेदार मन्दिर केदारनाथ ज्योर्तिलिङ्ग भएको जगद्गुरुले बताए । रौलाकेदारको महिमा बद्रीकेदारको जत्तिकै रहेको उनले प्रष्ट पारे । उनले भने ‘पौराणिक रावलादी पर्वतमा अवस्थित ज्योतिर्लिलिङ्ग नै केदारनाथ हो ।’
रौलाकेदार धाममा पुग्नका लागि बाटो भने अप्ठ्यारो रहेको छ । रौलाकेदारमा पहिला पनेरु राजाको राजदरबार रहेको समेत बताइएको छ । राजाले शासन गर्ने बेला बनाइएका विभिन्न भौतिक संरचनाका अवशेषहरु पनि अझै भेटिने गरेको पूजारी भट्टले बताए ।
अग्लो डाँडोमा रहेको रौलाकेदारको दर्शनका लागि बैतडीका मात्रै नभएर अन्य ठाउँका दर्शनार्थी समेत आउने गरेको सुर्नया ४ का रामबहादुर महराले बताए । रौलाकेदार धाम पुग्नका लागि पदमार्ग मात्रै निर्माण गर्न सक्ने धेरै धार्मिक पर्यटकहरुलाई भित्र्याउन सकिने उनले बताए ।
श्रावणको महिनाभरी रौलाकेदारको दर्शनका लागि हजारौं दर्शनार्थीहरु पुग्ने गरेका स्थानीय शिवराज भट्टले बताए । अनुपम प्राकृतिक सौन्दर्यता, धार्मिक शक्ति र स्थानीयहरुको विश्वासको संगम नै रौलाकेदार धाम रहेको उनले बताए । रौलाकेदारको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।
सुर्नया गाउँपालिका–५ मडमा रौलाकेदार धामको भण्डार घर रहेको छ । गौराको समयमा उक्त भण्डार घरको खलामा खेल खेल्ने चलन रही आएको छ ।
जात्राको समयमा भण्डार घरबाटै जात्रा लैजाने चलन रही आएको स्थानीय नवराज मडैले बताए । रौलाकेदारको महिमा अतुलनीय रहेको उनले बताए ।