Sagun Khabar
श्रीकृष्णजन्माष्टमी : धर्म, प्रेम र जीवनको सन्देश

बैतडी –जन्माष्टमी केवल एउटा धार्मिक पर्व मात्र नभई सम्पूर्ण मानव सभ्यताको लागि आध्यात्मिक, दार्शनिक र नैतिक प्रेरणाको अनुपम क्षण हो । 

जन्माष्टमीले हामीलाई केवल भगवान्को जन्म उत्सव मनाउन मात्र सिकाउँदैन, यसले जीवन, अस्तित्व र चेतनाको गहिरो रहस्य बुझ्न आह्वान गर्दछ। अन्धकारमय कारागारमा देवकीको कोखबाट जन्मनुभएका श्रीकृष्ण, केवल वसुदेव–देवकीका पुत्र मात्र होइनन्, उनी सम्पूर्ण मानवताका लागि प्रकाशका ज्योति, सत्यका पथप्रदर्शक र प्रेमका दूत हुन् । 

कारागार, जुन अज्ञान, अत्याचार र अन्यायको प्रतीक हो, त्यसैभित्र जन्मिएको उज्यालोले संसारलाई बाटो देखायो । यसले हामीलाई सम्झाउँछ कि अस्तित्वको अन्धकार कत्तिको गहिरो भए पनि उज्यालोको संभावना कहिल्यै मर्दैन । जीवनको प्रत्येक कठिनाइमा, प्रत्येक पीडामा र प्रत्येक संघर्षमा एउटा सम्भावना लुकेको हुन्छ—सत्य र धर्मको पुनर्जन्म हुने सम्भावना ।

श्रीकृष्णको जीवन कथा केवल पौराणिक आख्यान होइन, यो एक प्रकारको सांस्कृतिक दर्शन हो । उनका बाल्यकालका दैत्यहरूसँगका संघर्षहरू, गोवर्धन पर्वत उठाएको अद्भुत प्रसङ्ग, गोकुलका गोपगोपिनीहरूसँगको प्रेम र रमण, कौरव–पाण्डव युद्धमा अर्जुनलाई दिएको गीता उपदेश—यी सबै प्रसङ्गहरू केवल कथा मात्र होइनन्, मानवीय जीवनको प्रतिकात्मक व्याख्या हुन् । यी घटनाहरूले देखाउँछन् कि सत्य र प्रेमलाई साथ दिने जो कोही हुन्छ, ऊ अनिवार्य रूपमा सफल हुन्छ। कृष्णले प्रेमलाई केवल सांसारिक आकर्षणको रूपमा होइन, जीवनलाई सार्थक बनाउने आध्यात्मिक शक्तिको रूपमा प्रस्तुत गरेका छन् । 

गोपीहरूको कृष्णप्रेम कुनै शारीरिक आकर्षण होइन, त्यो आत्मा र परमात्माको मिलनको प्रतीक हो। यसैले कृष्णलाई ‘पूर्ण पुरुषोत्तम’ भनिन्छ—उहाँ जीवनका सबै आयामहरूलाई धारण गरेर पनि परम सत्यमा स्थापित हुनुहुन्छ ।

श्रीमद्भगवद्गीतामा कृष्णले दिएको शिक्षा केवल युद्धभूमिका अर्जुनलाई मात्र होइन, सम्पूर्ण मानवजातिलाई हो। जीवन एक निरन्तर संघर्ष हो—आफ्नो स्वार्थ, लोभ, ईष्र्या, राग, द्वेष र मोहसँगको युद्ध। यस्तो युद्धमा डराउने होइन, आफ्नो धर्मपालन गर्नुपर्ने सन्देश गीता दिन्छ। “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन”—अर्थात् कर्ममा तिम्रो अधिकार छ, तर फलमा छैन । यो केवल उपदेश मात्र होइन, जीवनलाई व्यवहारिक बनाउन सक्ने सार्वकालिक दर्शन हो ।

आजको उपभोक्तावादी युगमा मानिसहरूले कर्मभन्दा बढी फलमा जोड दिएका छन् ।  धन, प्रतिष्ठा र पदको मोहमा डुबेका मानिसहरूले कर्तव्यलाई बिर्सेका छन् । यस्तो अवस्थामा कृष्णको सन्देश अझ गहिरो रूपमा आवश्यक छ—हामीले आफ्नो कर्तव्य तर्फ ध्यान दिनुपर्छ, फल आफैँ आउनेछ। जन्माष्टमीले हामीलाई अन्धकार र उज्यालोबीचको सम्बन्ध बुझाउँछ। देवकीको कोख अन्धकारमय कारागारमा थियो, तर त्यही कोखबाट जन्मिएका कृष्णले संसारलाई उज्यालो दिनुभयो। यसको दार्शनिक अर्थ छ—जसरी अन्धकारमै उज्यालो जन्मिन्छ, त्यसैगरी जीवनका पीडा, दुःख र संघर्ष नै चेतनाको जागरणको श्रोत हुन्छन् । 

दुःखलाई शापको रूपमा होइन, अवसरको रूपमा लिनुपर्छ। संकट, पीडा र असफलताले मानिसलाई आत्मजागरण गर्न प्रेरित गर्छन् । यही जागरणले नै जीवनलाई सार्थक बनाउँछ । समाजशास्त्रीय दृष्टिले हेर्दा पनि कृष्ण जन्माष्टमीको महत्व अद्भुत छ । कृष्णले पितृसत्तात्मक, जातीय र सामाजिक विभाजनको युगमा प्रेम, करुणा र समानताको सन्देश दिनुभयो ।  उहाँ ग्वालवालासँग नाच्नुहुन्छ, सामान्य गोप–गोपीसँग रमाउनुहुन्छ, दलित र शोषितहरूसँग मित्रता गर्नुहुन्छ। यसले देखाउँछ कि कृष्णले जीवनलाई कुनै वर्ग, जात वा सम्प्रदायमा सीमित गरेकोे छैन । उहाँको जीवन सार्वभौमिक मानवताको प्रतीक हो । 

आज पनि जब समाजमा असमानता, जातीय विभेद, लैङ्गिक हिंसा र वर्गीय शोषण विद्यमान छ, कृष्णले देखाएको प्रेम र करुणाको मार्ग अत्यन्त प्रासंगिक छ । दार्शनिक दृष्टिले, कृष्ण जीवन र मृत्युको अद्वितीय सन्देश दिनुहुन्छ । कुरुक्षेत्रमा अर्जुनलाई मृत्युको डर थियो—आफ्ना आफन्त, गुरु र भाइलाई मार्नुपर्ने यथार्थले उनलाई विचलित बनाएको थियो । तर कृष्णले उनलाई सम्झाउनुभयो—आत्मा न त जन्मिन्छ, न त मर्छ। शरीर केवल अस्थायी आवरण हो । 

यो शिक्षा केवल युद्धको सन्दर्भमा होइन, जीवनको मूल सत्य हो । हामीले मृत्युबाट डराउनु पर्दैन; बरु जीवनलाई कर्तव्य र सत्यमा समर्पित गर्नुपर्छ । यो दार्शनिक दृष्टि आजको भौतिकतावादी युगमा अझ गहिरो अर्थमा प्रासंगिक छ । मानिसहरू जीवनलाई केवल भौतिक सुख–सुविधामा सीमित गरेर आत्मिक पक्षलाई बिर्सेका छन् । फलस्वरूप, मानसिक तनाव, एक्लोपन र असन्तोष बढ्दो छ ।

यस्तो अवस्थामा कृष्णको शिक्षा आत्मिक शान्ति र मानसिक सन्तुलनको मूल मन्त्र हो ।  समालोचनात्मक रूपमा हेर्दा, श्रीकृष्णको जीवनमा अनेकौं विरोधाभासहरू पनि छन् ।  उहाँ एकातिर नीति र धर्मका प्रवक्ता हुनुहुन्छ भने अर्कोतिर छल, कपट र युद्धनीति प्रयोग गर्नुभएको छ । उदाहरणका लागि, महाभारतमा अश्वत्थामाको वधका लागि युधिष्ठिरलाई असत्य बोल्न बाध्य पार्नुभएको थियो ।  यसले प्रश्न उठाउँछ—कृष्ण धर्मका प्रतिक हुन् वा राजनीति र सत्ता–रणनीतिको? तर यसको गहिरो विश्लेषण गर्दा थाहा हुन्छ—कृष्णले धर्मको रक्षा गर्नका लागि व्यावहारिक नीति अपनाउनुभएको हो ।  धर्म केवल आदर्शमा टिकेर बाँच्दैन, यो व्यवहार र यथार्थसँग मेल खानुपर्ने हुन्छ । 

सत्य र असत्यको सापेक्षतामा कृष्णले धर्मलाई जीवन्त बनाएका छन् । यही कारण उहाँलाई केवल भगवान् नभई राजनीतिज्ञ, दार्शनिक र मानव–साहित्यका महान पात्र मानिन्छ । आजको युगमा कृष्णको शिक्षालाई व्यवहारमा कसरी उतार्ने भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । धार्मिक अनुष्ठानमा सीमित गरेर मात्र कृष्णलाई पूज्ने हो भने त्यसको वास्तविक अर्थ हराउँछ । जन्माष्टमीको अर्थ केवल व्रत, उपवास र पूजापाठ होइन; यो आत्मसुधार र सामाजिक सुधारको अभियान हो । 

हाम्रो मनको कारागारभित्र बसेका दुष्प्रवृत्ति—ईष्र्या, लोभ, घृणा, राग र मोहलाई तोड्नु नै कृष्ण जन्माउने प्रक्रिया हो । जसरी देवकीको गर्भको कारागार तोडेर कृष्ण जन्मिए, त्यसैगरी हाम्रो चेतनाको कारागार तोडेर नै आत्मिक जागरण सम्भव हुन्छ । यस पर्वले हामीलाई सम्झाउँछ कि अन्याय सधैं टिक्दैन। कंस जस्तै शक्तिशाली अत्याचारी पनि अन्ततः नाश हुन्छ ।

सत्य र धर्मको शक्ति अन्ततः विजयी हुन्छ । तर यसका लागि साहस, त्याग र संघर्ष आवश्यक हुन्छ । कृष्णको जीवन यो साहसको उदाहरण हो । उहाँ बाल्यकालदेखि निरन्तर चुनौतीहरूको सामना गर्नुभएको छ—दैत्यहरू, कंस, शिशुपाल, जरासन्ध र अन्ततः कुरुक्षेत्रको युद्ध । यी सबै लडाइँहरूले देखाउँछन् कि जीवनमा सत्यको बाटो सजिलो हुँदैन, तर संघर्षले मात्र जीवनलाई महिमा दिन्छ। साहित्यिक दृष्टिले पनि कृष्णको जीवन अनुपम छ । काव्य, गीत, नृत्य, कला र संगीत सबैमा कृष्णको रूप, लीला र दर्शन प्रतिबिम्बित छन् ।  संस्कृत कवि जयदेवदेखि आधुनिक साहित्यकारहरूका रचनासम्म कृष्णप्रेमको प्रतिध्वनि गुञ्जिएको छ ।

गोपीहरूको विरह गीत, मीरा र सूरदासका पद, भक्त कविहरूका भजन सबैमा कृष्ण प्रेमको धारा बगिरहेको छ। यो प्रेम केवल धार्मिक भावनामा सीमित छैन; यो जीवनलाई रमाइलो, उत्सवमय र सौन्दर्यमय बनाउन आवश्यक सौन्दर्यशक्ति हो । यसरी कृष्ण केवल धर्मका प्रवक्ता मात्र होइन, कला र संस्कृतिका प्राणपुन्ज पनि हुन् । 

निष्कर्षमा भन्नुपर्दा, श्रीकृष्ण जन्माष्टमी केवल धार्मिक पर्व नभई मानव सभ्यताको मार्गदर्शक दिन हो। यसले हामीलाई धर्म, प्रेम र जीवनको गहिरो सन्देश दिन्छ । अन्धकारबीच उज्यालो सम्भव छ, अन्याय अन्ततः पराजित हुन्छ, प्रेम र करुणा जीवनको मूल सार हुन् भन्ने शिक्षा यसले दिन्छ । आजको भौतिकतावादी, विभाजित र अशान्त संसारलाई कृष्णको यही शिक्षा सर्वाधिक आवश्यक छ ।

हामी सबैले आफ्नो अन्तरआत्माको कारागार तोडेर आत्मिक कृष्णलाई जन्माउन सके मात्र जन्माष्टमीको वास्तविक अर्थ साकार हुन्छ । यस अवसरमा प्रत्येक मानवले सत्य, प्रेम र सदाचारलाई जीवनमा उतार्ने संकल्प लिनु नै कृष्ण जन्माष्टमीको महान् साधना हो । 

लेखक भोजराज अवस्थी पाटन बहुमुखी क्याम्पस पाटन बैतडीका विद्यार्थी हुन् । 
 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update