Sagun Khabar
बैतडीको सुर्नयामा तालाबन्दी : जेनजी समूह र पालिकाबीच सम्वाद शुरु 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी भएको एक हप्तापछि शुक्रबार जेनजी समूह र पालिकाबीच सम्वाद शुरु भएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीको उपस्थितीमा जेनजी समूह र पालिकाका प्रतिनिधिबीच छलफल भएको हो । 

छलफलमा गाउँपालिकामा तालाबन्दी गर्नुको कारण र समस्या समाधानको उपायका बिषयमा छलफल भएको जेनजी अगुवा विशाल भट्टले जानकारी दिए । आफूहरुले राखेका मागहरु पूरा हुने सुनिश्चितता भएपछिमात्रै तालाबन्दी खोल्ने आफूहरुको अडान कायमै रहेको उनले बताए । 

शुक्रबारको बैठकमा सबै कार्यपालिका सदस्य र महत्वपूर्ण भूमिकामा रहेका कर्मचारीहरु उपस्थित नहुँदा ठोस निर्णय हुन नसकेको उनले बताए । यद्यपि गाउँपालिकाले जेनजी समूहले उठाएका मागहरु सम्बोधन गर्ने जनाएको छ । 

गाउँपालिकामा गरिएको तालाबन्दीका बिषयमा जेनजी समूहको सहितको छलफल कार्यक्रम सञ्चालन भएको र सकारात्मक रुपमा अगाडि बढेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

जेनजी समूहले राखेको मागका बिषयमा कार्यपालिका सदस्य र कर्मचारीहरुसँग आफू निरन्तर छलफलमा रहेको बताउँदै उनले चाँडै समस्याको समाधान हुने बताए । सम्भवतः आइतबार पनि अर्को चरणको छलफल गर्ने योजनामा रहेका अध्यक्ष कुँवरले बताए । 

जेनजी समूहले पनि आफूहरुका माग पूरा गर्ने कार्यपालिका बैठकले सुनिश्चित गरेमा तालाबन्दी खोल्ने जनाएको छ । समृद्ध सुर्नयाका लागि आफूहरुको अभियान रहेकाले मागहरु छिटो सम्बोधन गर्न पालिकालाई आग्रह गरेको भट्टले बताए । उनले भने, ‘आफूहरुको माग गाउँपालिकाले जति छिटो सम्बोधन गर्यो त्यतिबेलै तालाबन्दी खुल्छ । यसमा गाउँपालिकाले तदारुकता देखाओस भन्ने हाम्रो भनाइ छ ।’

गएको भदौ २४ गते सुर्नया गाउँपालिकामा जेनजी समूहका तर्फबाट तालाबन्दी गरिएको थियो । तालाबन्दीपछि गाउँपालिकाका सबै कामकाज ठप्प रहेका छन् । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update