
बैतडी –गाउँघरमा राँगो पाल्ने चलन हराउँदै गएको बेला बैतडीका एक किसानले भने राँगो पालेर बार्षिक डेढ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
जिल्लाको दशरथचन्द नगरपालिका– ७ सुर्कालका खेमराज बडूले गएको २० बर्ष यता राँगो पालेर आम्दानी गर्दै आएका छन् ।
पहिला–पहिला राँगो पालेर कमै आम्दानी हुने भएपनि अहिले भने राँगो पालेर राम्रो आम्दानी भइरहेको बडूले बताए । उनले भने, ‘मैले २० बर्षदेखि राँगो पालेर आम्दानी गर्दै आएको छु । पछिल्लो समयमा राँगो पालेर राम्रो आम्दानी भइरहेको छ ।’
गएको एक बर्षयता बडूले मुर्रा जातको राँगो पालन गरिरहेका छन् । पहिला स्थानीय जातकै राँगो पालेका उनले पछिल्लो समयमा उन्नत जातको राँगो भित्र्याएका हुन् ।
भैंसी प्रजननका लागि उनी दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र मेलौली नगरपालिकाका विभिन्न स्थानमा राँगो पुर्याउँदै आएका छन् । त्यसको शुल्कबाट बार्षिक डेढ लाख जति आम्दानी हुने गरेको बडूले बताए । त्यसमध्ये खर्च कटाएर बार्षिक एक लाखको हाराहारीमा बचत हुने गरेको बताए । उनले भने, ‘भैंसी प्रजननका लागि कतिपयले घरमै ल्याउने गरेका छन् । कतिपय ठाउँमा मगाउने गरेका छन् । भैंसी प्रजनन बाफत दुरी हेरेर शुल्क लिने गरेको छु ।’
पछिल्लो चरणमा भारतबाट १ लाख २० हजार रुपैयाँको लगानीमा मुर्रा जातको राँगो किनेर ल्याएको बडूले बताए । उन्नत जातको राँगोबाट भैंसीमा प्रजनन गराउन आफूले मुर्रा जातको राँगो किनेको उनले बताए ।
राँगो पालेरै आफूले जिविकोपार्जन गरिरहेको बडूले बताए । आसपासमा व्यवसायिक रुपमा अरुले राँगो नपालेका कारण पनि बडूलाई फाइदा भएको छ । भैंसी प्रजननका लागि उनी बोलाएको ठाउँमा राँगो लगेर जाने गरेका छन् । त्यसबाट उनले शुल्क उठाउँदै आएका छन् । उनले भने, ‘मेरो घरको आम्दानी भनेको राँगो पालन व्यवसाय हो । १० जनाको परिवार पाल्न यसै व्यवसायले सहयोग गरिरहेको छ ।’