Sagun Khabar
अबको तीन दिन हिमाली र पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

बैतडी– देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, हिमाली क्षेत्रका थोरै स्थानहरूमा पनि वर्षा र हिमपातको सम्भावना छ । आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको अनुमान गरिएको छ ।

मौसममा आएको परिवर्तनसँगै केही दिनयता तराईका क्षेत्रमा बिहानीपख सामान्य हुस्सु र कुहिरो लाग्न थालेको छ ।

महाशाखाका अनुसार भोलि र पर्सि (आइतबार) पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना कायम रहनेछ । मौसममा फेरबदल भइरहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  ०८:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update