Sagun Khabar
बैतडीको पाटन र दार्चुलाको शैल्यशिखरमा संस्कृत पढाई 

बैतडी– बैतडीको पाटन नगरपालिका र दार्चुलाको शैल्यशिखर नगरपालिकाले कक्षा ६ देखि ८ सम्मको आधारभूत तहमा संस्कृत बिषयको पठनपाठन शुरु भएको छ । संस्कृत बिषयले भाषागत ज्ञानको विकास गर्ने भएकाले कक्षा ६ देखि ८ सम्म संस्कृत बिषय पठनपाठन गर्ने निर्णय भएको र सोही अनुसार नगरपालिकाका विद्यालयहरुमा संस्कृत बिषयको पठनपाठन शुरु भएको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए । 

कक्षा ६ देखि ८ सम्म एउटा बिषय स्थानीय अथवा अन्य कुनै बिषय पढाउनुपर्ने भएकाले पाटनमा संस्कृत बिषयको पठनपाठन गर्ने निर्णय गरेको उनले बताए । उनले भने ‘संस्कृत बिषय पढाउनका लागि हामीसंग जनशक्ति पनि छ । यसले आधारभूत तहमा भाषाका बिषयमा पनि ज्ञान दिन्छ । त्यसैले हामीले संस्कृत बिषयको पठनपाठन गर्ने भनेका हौं र सोही अनुसार विद्यालयमा पठनपाठन भईरहेको छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिकाले पनि कक्षा ६ देखि ८ सम्म आधारभूत तहमा संस्कृत बिषयको पठनपाठन शुरु गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले बताए । उनले भने ‘नागरिकलाई नैतिकवान र सुसंस्कृत बनाउन संस्कृत शिक्षा आवश्यक छ । त्यसैले हामीले नगर क्षेत्रका विद्यालयमा संस्कृत भाषाको पठनपाठन शुरु गरेका हौं ।’

पाटन नगरपालिकाले संस्कृत बिषय पठनपाठनका लागि ५ दिनको तालिम दिने तयारी समेत गरेको शिक्षा शाखा प्रमुख भट्टले बताए । उनले भने ‘हामीले नगरपालिका भित्रका विद्यालयका शिक्षकहरुका लागि तालिमको व्यवस्था गर्ने तयारीमा छौं ।’

संस्कृत बिषयको पठनपाठन गर्नु राम्रो भएपनि आवश्यक जनशक्ति र पाठ्यवस्तुको अभावमा समस्या भईरहेको विद्यालयहरुले जनाएका छन् । विद्यालयहरुमा संस्कृत पढाउनका लागि आवश्यक जनशक्ति नहुँदा समस्या भएको सिद्धनाथ मावि सिलंगाका प्रधानाध्यापक लक्ष्मण बोहराले बताए । 

संस्कृत बिषय धर्म, संस्कृत र मौलिकतासंग जोडिएको बिषय भएकाले यसको पठनपाठन विस्तार गर्नुपर्ने आचार्य घनश्याम लेखकले बताए । उनले भने ‘केही पालिकामा संस्कृतको पठनपाठन शुरु भएको छ । अन्य पालिकाहरुमा पनि यसको पठनपाठन हुनु आवश्यक छ ।’

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update