Sagun Khabar
सीमा क्षेत्रमा आपराधिक क्रियाकलाप रोक्न नेपाल र भारतका अधिकारी सहमत 

बैतडी –नेपाल र भारतका स्थानीय प्रशासनहरु सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्नका लागि संयुक्त पहल गर्ने कुरामा सहमत भएका छन् । भारतको पिथौरागढमा शनिबार सम्पन्न भएको नेपाल –भारत समन्वय समितिको बैठकमा सो कुरामा सहमति भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका अधिकारीहरुबीच समन्वय समितिको बैठक सम्पन्न भएको हो । पिथौरागढ जिल्लाका जिल्ला अधिकारी डा. आशिष चौहानको पहलमा सम्पन्न भएको बैठकमा बैतडी र दार्चुला प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र भन्सार कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।

स्वास्थ्य सन्देश
Atrya hospital

बैठकमा सीमा क्षेत्रमा हुन सक्ने मानव बेचबिखन रोकथाम, सीमा नाकाबाट हुन सक्ने लागू औषधको कारोबार, झुलाघाट झोलुंगे पुल मर्मत, भारतसंग जोडिएका घाटहरु व्यवस्थित गर्ने लगायतका बिषयमा छलफल भएको सूचना अधिकारी भारतीले बताए । 

यस्तै दुई देशका नागरिक एक अर्को देशमा आवतजावत गर्दा परिचय खुल्ने कागज भएमात्रै प्रवेश गर्न दिने कुरामा पनि सहमति भएको छ । 

बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेय, जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेशबहादुर पाल, सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाह, महाकाली भन्सार कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो । यस्तै दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको थियो । समन्वय बैठकले सीमा क्षेत्रमा हुन सक्ने विभिन्न समस्या समाधानका लागि पहल हुने सूचना अधिकारी भारतीले बताए । 
 

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update