Sagun Khabar
बैतडीका डम्मर अवस्थीको शव फेला, अपहरणमा परेको नाटक गरेका हरिश नै हत्यामा संलग्न  !

बैतडी –बैतडीको सुर्नया गाउँपालिका ६ खर्काधारका डम्मर अवस्थीको शव फेला परेको छ । गएको मंसिर १४ गतेदेखि घरबाट हराएका ३० बर्षीय अवस्थीको शव घर नजिकैको गुफामा फालेको अवस्थामा फेला परेको हो । 
अवस्थीको शव सडेको अवस्थामा घर नजिकैको रहेको जंगलको गुफामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।

केही दिन अघि आफूलाई विप्लव समूहले अपहरण गरेको भनेर नाटक गरेका सुर्नया गाउँपालिका ६ कलालबसेका हरिश अवस्थीले नै डम्मर अवस्थीको हत्या गरेको प्रहरीले जनाएको छ ।  हरिशले दिएको लोकेशनको आधारमा खोजी गर्दा डम्मरको शव फेला परेको र उनले नै हत्या गरेको पुष्टि भएको प्रवक्ता ओझाले बताए । उनले भने ‘अहिले हाम्रो हिरासतमा रहेका हरिशले भने अनुसार नै शव फेला पर्यो । उनले हत्या गरेको पनि स्वीकार गरिसकेका छन् । घटनाको थप अनुसन्धान भईरहेको छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

करीब १५ फिट गहिरो गुफाबाट डम्मरको शव निकालिएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको प्रवक्ता ओझाले बताए । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको उनले बताए । डम्मरको हत्या एक्लै हरिशले गरेका थिएकी अरु पनि सहभागी थिए भन्ने कुराको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

एकै ठाउँ बस्ने मानिसको हत्या भएपछि अहिले गाउँमा त्रास फैलिएको छ । डम्मरको हत्यामा संलग्न हरिश सिद्धनाथ आधारभूत विद्यालयका शिक्षक समेत हुन् । डम्मरको हत्यापछि पक्राउ पर्ने डरले हरिशले अपहरणको नाटक गरेको प्रहरीको निष्कर्ष छ । 

डम्मर र हरिशको घर १० मिनेटको दुरीमा रहेको छ । उनीहरुको परिवारमा केही बर्ष पहिलादेखि खटपट रहेको बुझिएको छ । 

अपहरणमा परेको नाटक गरेर हरिशले सामाजिक सञ्जालमा यस्तो पोष्ट गरेका थिए 

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update