
बैतडी– बैतडीको सुर्नया गाउँपालिका ६ का डम्मर अवस्थीको हत्यामा संलग्नहरुलाई कारवाही गर्न विप्लव नेतृत्वको नेकपाले माग गरेको छ । सो पार्टी सदस्य समेत रहेका अवस्थीको हत्या गरी शव गाडेको अवस्थामा बुधबार मात्रै फेला परेको थियो ।
अवस्थीको हत्यामा संलग्न शिक्षक हरिश अवस्थी सहित अन्यहरुलाई समेत कानुनी कारवाही गर्न माग गरिएको छ । डम्मरको हत्यामा एकजना मात्रै नभएर अरुहरु पनि संलग्न रहेको नेकपाले ठहर गरेको छ ।
आफ्ना सदस्यको हत्यामा संलग्न भएकाहरुको खोजी गरि कारवाही नगरे आफ्नो पार्टीले कारवाही गर्ने विज्ञप्ती मार्फत चेतावनी समेत दिइएको छ ।
सुर्नया ६ का डम्मर अवस्थी गएको मंसिर १४ गते बेलुकादेखि हराईरहेका थिए । उनको शव घर नजिकैको जंगलको गुफामा गाडेको अवस्थामा फेला परेको हो । शवको पोष्टमार्टम गरिएको भएपनि हत्यामा संलग्न अरुहरुको पहिचान नहुँदा सम्म शव नबुझ्ने आफन्तजनले अडान लिएका छन् ।